Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०९:५१

दार्चुलामा साउन १६ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने, शिक्षक, उद्योगी र व्यवसायी प्राथमिकतामा

Wide Nepal News
बुधबार, साउन १३, २०७८
गोकुलेश्वर : दार्चुलामा कोरोना भाइरस विरुद्धको खोप साउन १६ गतेदेखि लगाइने भएको छ । मंंगलबार (हिजो) बसेको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले साउन १६ गतेदेखि १८ गतेसम्म भेरोसेल र साउन २० गतेदेखि २२ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । ब्याँस गाउँपालिकाको हकमा ३५ देखि ३९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिइने छ । खोपको प्राथमिकतामा परेका विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकहरुलाई लगाइने जनाएको छ । यस्तै असार ११ र १२ गते भेरोसेलको पहिलो मात्रा लगाएका र अन्य छुट दोस्रो मात्रा लगाउन बाँकी रहेका नागरिकलाई पनि १६ देखि १८ गतेसम्मको खोप अभियानमा लगाउने छ । यस्तै २० गतेदेखि लगाइने जोन्सन एण्ड जोन्सन खोप “४५ देखि ४९ वर्ष उमेर समूहका कोभिडविरुद्ध खोपको पहिलो मात्रा लगाउन बाँकी सबै नेपाली नागरिकले पाउनेछन् । त्यस्तै “पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई उक्त खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । खोप लगाउन आउदा उमेर समूह खुल्ने आधिकारीक प्रमाणपत्र लिएर आउन आग्रह गरिएको छ । भेरोसेलको १० हजार १ सय ६० डोज खोप बुधवार बेलुकीसम्म दार्चुला आइपुग्ने बताइएको छ । दार्चुलामा ५५ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप यसअघि नै पाइसकेका छन् ।

प्रतिक्रिया