Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५९

महाकाली तुईन काण्ड : भारतसामु औपचारिक विरोध जनाउन सांसद ठगुन्नाको माग

Wide Nepal News
मङ्गलबार, साउन १९, २०७८
दार्चुला :  नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको महाकाली पार गर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर नेपाली नागरिकको ज्यान लिएको घटनामा सरकार भारतीय पक्षसँग कुरा गर्न डराएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ठगुन्नाले आफ्ना नगारिकको ज्यान गएको गम्भीर घटनामा पनि देउवा नेतृत्वको सरकार भारतीय पक्षसँग कुरा गर्न डराइ ढाकछोपमा लागेको बताएका हुन् । ‘भारतीय पक्षबाट एउटा नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्दैन। प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिनको नाटक गरेको छ । गृह प्रशानसले पनि यसलाई गम्भीर रुपमा लिइरहेको छैन। भारतीय थानमा पनि पीडित पक्षले किटानी जाहेरी दिइसकेका छन्। स्थानीय प्रशासन र गृह मन्त्रालय दुवै ढाकछोपमा लागेका छन्,’ सांसद ठगुन्नाले भने । भारतीय सुरक्षा बल एसएसबीले नेपाली नागरिकको ज्यान लिने अक्षम्य अपराध गरेकाले यस प्रकारको जघन्य, बर्बर र मानवता विरोधी घटनामा नेपाल सरकारले भारतीय पक्षसँग अविलम्ब छलफल गरी दोषिलाई कारबाहीको दायरामा ल्याउन पनि उनले आग्रह गरेका छन् । कालापानी भौतिक रुपमा टाढा भएर काठमाडौंलाई उक्त घटना नदुखेको पनि उनले बताएका छन् । साथै उक्त घटना छानविनको लागि संसदीय समिति बनाउन पनि उनले माग गरेका छन् । ‘सरकारलाई कालापानी किन दुख्दैन रु कालापानी टाढा भएर होला। दार्चुला घटना दोहोरिन नदिन दार्चुला, कालापानी, तिंकरलाई राष्ट्रिय गौरवको आयोजना बनाइयोस् । ताकि नेपाली नागरिकले तुइन तर्न नपरोस्। यो घटना छानबिनका लागि संसदीय समिति गठन गरियोस्। यो घटनामा भारतसँग विरोध जनाइयोस्। मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिइयोस्,’ उनले भने ।

प्रतिक्रिया