Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४१

आज गौरा पर्वको मुख्य दिन, सुदूरपश्चिममा उल्लासका साथ मनाइदैं

Wide Nepal News
सोमबार, भदौ १४, २०७८

आज गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्।

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ। त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ। गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ।

यस्तै आज नै कृष्णजन्माष्टमी पर्व पनि मनाइदैछ। संघीय सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। यसअघि गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले आजकै दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा दिएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले पनि आज कृष्णजन्माष्टमी पर्वको सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया