Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५७

दुँहु बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई गाउँपालिकाद्वारा राहतको घोषणा

Wide Nepal News
शनिबार, भदौ १९, २०७८
दार्चुला : दुँहु गाउँपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार राहत उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको छ । भाद्र १३ गतेको बाढी पहिरोमा ज्यान गुमाएका मृतक परिवारलाई ५० हजार र पूर्ण घर क्षति भएका बाढी पहिरो पीडितहरुलाई २५ हजार राहत दिने निर्णय गरेको हो । गाउँपालिकाभित्रका एक सय ५० घर परिवार बाढी पहिरोका कारण विस्थापित हुनुपर्ने अवस्था रहेकाले उनीहरुको पुर्नस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय मार्फत् सम्बन्धित निकायमा माग गर्ने निर्णय पनि गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन । बाढी पहिरोका कारण पूर्ण क्षति भएका र विस्थापित परिवारलाई खाद्यान्न राहत उपलब्ध गराउने, तत्काल अबरुद्ध बाटोघाँटो सञ्चालन गरी जनजीवन सहज गर्न वडालाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । पहिरोबाट क्षतविक्ष संरचनाहरु पुर्ननिर्माण गर्न गाउँपालिकालाई विशेष गाउँपालिका घोषणा गरी पुर्ननिर्माणको छुट्टै परियोजना लागु गर्न संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै बाढी पहिरोका कारण प्रभावित भएको जनजीवनलाई सामान्य बनाउन अल्पकालिन र दर्घकालिन उद्वार तथा पुनस्थापानाको काम अगाडी बढाइने भन्दै पीडित परिवारलाई धैर्य गर्न अपिल समेत गरिएको छ ।

प्रतिक्रिया