Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५२

दार्चुलाका बाढीपहिरो प्रभावित १० बस्ती स्थानान्तरणका लागी गृह मन्त्रालयलाई सिफारिस

Wide Nepal News
शनिबार, असोज ०२, २०७८
दार्चुला : दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढी र पहिरोका कारण क्षतविक्षत बनेका बस्तीहरू स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । बाढी र पहिरोले जमिन भासिएर बस्न जोखिम भएकाले विभिन्न ठाउँका १० वटा बस्ती स्थानान्तरणका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । भदौ १३ को बाढी र पहिरोले दुहु गाउँपालिका–२ का नरोली, अफरे, बथ्थोली, अङिरखाड, वडा ५ का सिमार, नागचौपाती, मखमाली, दमाउढुंगा, चुच्चौगाडा र वडा ३ को श्रीबगड बस्तीमा जमिन भासिएर चिरा–चिरा भएको थियो । बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसोबासका लागि बस्ती स्थानान्तरण गर्न सम्बन्धित निकायसमक्ष पहल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुहु–२, ३ र ५ वडामा बाढीपहिरोका कारण धनजनको क्षति भएको थियो । क्षतिग्रस्त बस्तीहरू नरोली, राता, गुना, अफरे, बथ्थोली, सिमार, सुत्खोलाबाहेकका बस्तीहरूमा पनि जमिन भास्सिने क्रम नरोकिएको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । जमिन चिराचिरा भएर क्षति पुर्‍याइरहेकाले भौगर्भिक अध्ययनका लागि भूगर्भ विभागको टोली गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । बैठकले यस वर्षको अविरल वर्षाका कारण विभिन्न मितिमा वर्षासँगै आएको बाढी, पहिरोबाट जिल्लाका विभिन्न स्थानीय तहहरूमा घररआवास पूर्ण क्षति तथा जोखिम भई परिवारहरू विस्थापित भएका छन् । विपद् पीडित परिवारहरूलाई स्थानीय तहहरूबाट सिफारिस भएअनुसार पुनस्स्थापना, पुनर्निर्माण र मर्मत प्रबलीकरण कार्यका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले लघु जलविद्युत् योजना, विद्युत् पोल, झोलुंगे पुल, आरसीसी पुल, मोटरेबल पुल, खानेपानी योजना, सिँचाइ योजना, विद्यालयहरू, सडक बाटो, सरकारी कार्यालयजस्ता संरचनाहरूमा भएको क्षतिको पुनर्निर्माण कार्यका लागि संघीय सरकार र प्रदेश सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको छ । महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ को सीमा क्षेत्र श्रीबगरमा दार्चुला–टिंकर सडकको मोटरेबल पुल बगाएपछि दुहु भेगमा जान समस्या भएको छ । अहिले उक्त क्षेत्रको यातायात सेवा अवरुद्ध भएको छ ।अपी हिमाल गाउँपालिका–३ र ४ स्थित गौडे खोलामा आएको बाढीका कारण केही घरहरू उच्च जोखिममा रहेकाले उक्त खोला किनारमा तटबन्ध निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गरिने भएको छ । मौसमजन्य प्रकोपले जिल्लाका मार्मा गाउँपालिका र महाकाली नगरपालिकालगायत क्षेत्रमा भएको क्षतिका बारेमा छलफल गरी त्यसको पुनर्निर्माणका लागि संघ, प्रदेश सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया