Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४७

आपराधिक गतिविधि रोक्न दार्चुलामा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ३२४ प्रहरी खटिने

Wide Nepal News
शनिबार, असोज ०९, २०७८
गोकुलेश्वर । दार्चुलामा प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएर लागू गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगी, लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागू गरिएको बताएका छन् । यो अवधिमा जिल्लाभरीका सबै युनिटहरुबाट ३२४ जना प्रहरी परिचालन गरिने डिएसपी भट्टले बताए। प्रहरीले मुख्य सडकहरुमा समेत विशेष निगरानी बढाउने तथा सडक क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणको लागि चेकजाँचमा कडाई गरिनेछ । जसका लागि १० वटा मोटरसाइकलमा नियमित प्रहरीको छड्के जाँच, ३ वटा भ्यानमा प्रहरीको विशेष सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै ठाउँ ठाउँमा ट्राफिक प्रहरीसहितको चेकजाँचको प्रबन्ध मिलाइएको डिएसपी भट्टले जानकारी दिए। यस्तै भारतसँग सीमा जोडिएको तिग्रम, खलंगा, दत्तु, जोलजीवि र लालीमा यात्रु सहायता कक्ष स्थापना गरिने र सीमामा आवत जावत गर्ने व्यक्तिको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिन लागेको हो । राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने, सार्वजनिक स्थान, सरकारी कार्यालयको सुरक्षामा पनि विशेष ध्यान दिइएको भट्टले बताएका छन ।

प्रतिक्रिया