Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४२

दार्चुलाको गोकुलेश्वरसहित ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

Wide Nepal News
शुक्रबार, असोज १५, २०७८
दार्चुला : प्रहरीले दशैतिहारको समयमा यात्रुको सहजताका लागि दार्चुलाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै जिल्लाका विभिन्न ५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरद्वारा शुक्रबार (आज) दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । कुनै पनि यात्रुले यात्रा गर्दा बाटोमा समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले यात्रु तथा नागरिकको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक अरूण बमले जानकारी दिएका छन् । यसैबिच जिल्ला प्रहरी कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा गोकुलेश्वर बजारसहित सदरमुकाम खलंगा, दत्तु, पस्ती र मालिकार्जुनमा गरि जिल्लाका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन् । चाडपर्वका बेला सवारी साधानमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको डिएसपी भट्टले बताए । बिहिवार यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले यात्राको क्रममा वास्तविक भाडाभन्दा बढि भाडा लिइएको पाइएमा कारवाही गर्न ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई निर्देशन समेत दिएका छन् । यात्रु गर्दा यात्रुले पनि अनिवार्य टिकट काटेर हिड्यौं डिएसपी भट्टले भने, "भाडा भन्दा बढि लिएको छ भने नजिकका प्रहरी युनिट वा यात्रु सहायता कक्षमा सम्पर्क गरौं । छोटो तथा लामो दुरीका सवारी साधनमा यात्रा गर्दा सीट क्षमता भन्दा बढि यात्रु राख्ने तथा मुढा राखेर यात्रु चढाइएको छ भने कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले अहिले पनि कोरानाको असर कायमै रहेको हुँदा यात्रा गर्दा अनिवार्य मास्क र सेनिटाइजर बोक्न समेत यात्रुहरुलाई आग्रह गरे । डिएसपी भट्टले थपे, "क्षमताभन्दा बढी यात्रु राख्नु, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनु, तीव्र गतिमा सवारी साधन हाक्नु लगायतका कारणले सवारी दुर्घटना हुन्छन् । तिनै कुरालाई नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौं ।" नियमको पालना गरेर सबैले यात्रा गरौं र गाडी चलाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया