Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५०

हेलिकप्टरमार्फत दार्चुलाको दुर्गम गाउँपालिका ब्यासमा चामल ढुवानी गरिदै 

Wide Nepal News
आइतबार, असोज १७, २०७८
दार्चुला : भारत र चीनसित सीमा जोडिएको गाउँपालिका ब्यासमा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी भइरहेको छ । सडक सञ्जालले नजोडेको ब्यास गाउँपालिकामा खाद्यान्नको अभाव भएपछि ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले गत भाद्र २ गते गृह मन्त्रीलाई भेटेर खाद्यान्न ढुवानीको माग गरेका थिए । भारतीय बजारबाट तुईन मार्फत खाद्यान्न आपुर्ती हुने ब्यासका गाउँमा यस पटक जयसिह धामी प्रकरण पछि भारतीय एसएसबीले महाकाली नदीमाथीका तुईनहरु हटाएको छ । तुईन हटाएपछि ब्यासका नागरिकले खाद्यान्नको अभाव झेलिरहेका छन् । गृह मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई खाद्य ढुवानीका लागि जिम्मा दिएको थियो । ब्यापार कम्पनीले एक्सेस सिपिङ्ग एण्ड एयर लजिष्टिक प्रा.लि काठमाडौं संग ढुवानी सम्झौता गरि खाद्यान्न ढुवानी भइरहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका अधिकृत कल्पना विष्टले जानकारी दिएकि छन् । हेलिकोप्टर मार्फत वडा नं १ को छाङरुमा १ सय २५ क्विनटल र तिंकरमा ७५ क्विनटल, वडा नं २ को दुम्लीङमा ४० क्विनटल, मालमा ४० क्विनटल, राप्लामा २० क्विनटल, वडा नं ३ सिनामा १ सय क्विनटल र वडा नं ४ सुन्सेरामा २ सय क्विनटल चामल ढुवानी गरिने उनले बताइन् । धनगढीबाट दार्चुला सदरमुकाम खलंगा सम्म ट्रकमा र दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत ढुवानीका लागि सम्झौता भएको छ । तर सम्झौता अनुसार दार्चुला सदमुकामबाट नभई करिब १५ किलोमिटर अगाढी दुहु गाउँपालिकाको सिलिङचौरा सम्म ट्याक्टरमा ढुवानी गरि त्यहाँबाट हेलिकोप्टर मार्फत चामल ढुवानी भइहेको छ । हेलिकोप्टर उडान सहजका लागि अघिल्लो क्षेत्र सम्म ट्याकटरमा लगेर ढुवानी भइरहेको बुझिएको ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले जानकारी दिए । ढुुवानी गरिएको चामल दशै अघि नै ब्यासका जनतालाई बाडिने अध्यक्ष बुढाथोकीले बताए ।

प्रतिक्रिया