Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४४

फेरि पनि तुइनकै सहारामा ब्यासबासी

Wide Nepal News
सोमबार, असोज १८, २०७८
दार्चुला : जिल्लाको विकट गाउँपालिकाको रूपमा रहेको ब्यासका नागरिक फेरि पनि तुइनमा झुण्डिदै गाउँ आउजाउ गर्न बाध्य भएका छन् । सरकारले ब्यास गाउँपालिका वडा नम्बर २ दुम्लीङ, राप्ला मालको लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुण्डिदै यात्रा गर्न बाध्य भएका हुन् । राप्ला र मालगाउँका सयौं परिवार फेरि पनि तुइनमा झुण्डिर वारपार गर्न थालेका छन् । सरकारले बैकल्पिक बाटोको विकल्प दिन नसक्दा उनीहरुले पूरानै शैलीको तारको प्रयोग गर्दै आवतजावत गर्न लागेका छन् । स्थानीय सरकारले माल गाउँको लागि हेलिकप्टरमार्फत खाद्यान्न गाउँ पु¥याएपनि दुम्लीङका स्थानीयको लागि खाद्यान्न ढुवानी हुन सकेको छैन् । खाद्य संस्थानले ठेक्कामार्फत चामल पुर्याउने भने पनि अझै पुर्याउन नसकेको प्रभात बुढाथोकी बताउछन् । उनले भने, "गाउँमा खाद्यान्न ढुवानी हुन नसकेपछि बाध्य भएर फेरि पनि तुइनबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ।" तुइनको जोखिम मोलेर दुम्लीङका स्थानीयले खाद्यान्न र आवतजावत गर्नुपरेको अर्का स्थानीय महेन्द्र बुढाथोकीले बताए । "बाटोको विकल्प छैन् । तुइनबाट नगएर गाउँ पुग्न दुई दिन बढि लाग्छ ।" ‘बर्षौदेखि मजबुर भएर तुइनमा झुण्डिनुपरेको छ,’ बुढाथोकीले लेखेका छन् ।, ‘यो क्षेत्रमा राज्यको नजर कहिले पुग्ला ।’ नेपालबाट दुम्लीङ पुग्न दुई दिन लाग्छ । भारतीय बाटो हुँदै जाँदा दुई घण्टामै गाउँ पुगिन्छ । यो क्षेत्रमा दुई वर्ष अघिसम्म काठको पूलमार्फत महाकाली वारपार हुने गथ्र्यो । कोभिड–१९ को लहर आएसँगै यो क्षेत्रमा लगाइएको काठेपूल भत्काइएको हो । त्यसयता अहिले नागरिकले तुइन लगाएर आवतजावत गर्न थालेका हुन् । सामाजिक सञ्जाल फेसबूकमा जलन बुढाथोकी लेख्छन्, ‘जिन्दगीको कुनै निश्चितता छैन, कतिखेर महाकालीमा विलिन हुने हो बाध्यता कस्ले बुझिदिने ?’ गत साउन १५ गते ब्यास गाउँपालिका २ कै जयसिह धामी महाकाली नदीमा वेपत्ता भएयता यहाँका नागरिकलाई पनि तुइनमा आवतजावत गर्न निकै डर लागेको छ । तर तुइनको विकल्प नभए पछि अहिले पनि उर्लदो महाकालीमा आवतजावत गर्न बाध्य भएका हुन् । व्यासको दुम्लीङ सडक अहिले नै पुग्न सक्ने अवस्था छैन् ।  यो क्षेत्रमा भर्खर मात्र नेपाली सेनाले सडक निर्माणको काम थालनी गरेको छ । मालगाउँ नजिकैबाट सेनाले काम सुरु गरेको छ । व्यास ३ तुसरपानी क्षेत्रमा सडक निर्माणमा भएको वेवास्ताले पनि नेपालीले दुख पाएको दुम्लीङका स्थानीय प्रभात बुढाथोकी बताउँछन्। उनी भन्छन्, '‘यस्तै छ, हाम्रो परिस्थिती नेपालीको बाध्यता राज्यको ध्यान नजानू ।राज्यले ध्यान नदिएकै कारण मालमा घट्ना घटेको हो ।" मालघाटमा झोलुङ्गे पूल निर्माणको लागि ठेक्का भएको तीन वर्ष हुँदा पनि निर्माण कार्य अघि बढेको छैन् । पूल निर्माण मात्रै भएको भए राप्ला, माल र दुम्लीङका नागरिकले राहत पाउथे, मालका स्थानीय नरेन्द्रसिह धामीले भने, "मेरो दाई वेपत्ता भएको महिनौ भयो, अझै पनि सरकारले यो क्षेत्रमा पूल निर्माणको लागि ठेकेदारलाई घचघच्याएको छैन् ।" नविनसिंह डोबाल आफ्नो गुनासो यसरी पोख्छन्, '‘व्यासबासीका अनगन्ति पीडा छन्, तर देशमा सरकार मरिसकेको छ, महाकालीमा तुइन लगाउँदा अझै पनि छिमेकी भारतीयको त्रास छ । त्रासका बीच तुइनको डोरीमा आवतजावत गर्नुपरेको छ । एकारित गाउँमा नुनतेल हुँदैन् । " खाद्यान्न लगायत दैनिक उपभोग्य समान भारतबाटै निर्यात गर्नुपर्छ । सरकारले तुइन बन्द भएको तीन महिनासम्म पनि खाद्यान्न ढुवानी गर्न नसक्दा स्थानीयले फेरि जोखिम मोलेर तुइन लगाउन थालेका हुन् । तथापि आइतबारदेखि भने ब्यासमा हेलिकप्टरमार्फत केही मात्रामा चामल ढुवानी गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया