Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५९

पुर्चौडीहाट स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात

Wide Nepal News
शुक्रबार, असोज २२, २०७८
बैतडीको पुर्चाैडी नगरपालिका १ स्थित पुर्चाैडीहाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि  बिहीबार (साँझ) हातपात भएको छ । नगरपालिकाको वडा नं १ स्थित कुडीखेत टोलका सुरेन्द्र धनुसेले मदिरा सेवनगरी बिहीबार साँझ स्वास्थ्यकर्मी माथि हातपात गरेको पुर्चौडीहाट स्वास्थ्यचौकी प्रमुख दिपेन्द्रबहादुर धामीले जानकारी दिए । धनुसेले गालीगलौज गर्दै दुई जना महिला स्वास्थ्यकर्मी र आफूमाथि हातपात गरेको उनले बताए । उनले भने ‘हामी ड्युटीमा थियौं । ढोकामा लात्ती हानेर हामीमाथि हातपात भएको छ । एकजना सिस्टरको कपडा समेत च्यातिएको छ ।’ ड्युटीमा रहेका अनमी ताराकुमारी साउँद, अहेव रत्ना भण्डारी धामी र स्वास्थ्यचौकी प्रमुख दिपेन्द्रबहादुर धामीमाथि हातपात र गालीगलौज भएको हो । ‘हामी तरकारी किन्नका लागि बजारमा गएका थियौं । त्यो मान्छेले त्यहीबेलादेखि हामीलाई गाली गलौज गरिरहेको थियो । हामीसंग स–साना बच्चा पनि भएकाले हामी अफिसमा आयौं ।’उनले भने, ‘उसले अफिसमै आएर हामीमाथि गालीगलौज र हातापात गरेको हो । यसरी हामीलाई काम गर्न निकै समस्या भएको छ ।’ ड्यटीमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि हातपात भएपछि स्वास्थ्यकर्मीहरुले काम गर्ने वातावरण नभएको बताएका छन् । स्वास्थ्यकर्मीमाथि हातपात गरे लगत्तै धनुसेका आफन्तहरुले लगेपछि धनुषेलाई फेला पार्न नसकेको पुरघाट प्रहरीचौकीका प्रमुख प्रहरी निरीक्षक निराजन सुनारले बताए । स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि हातपात र गालीगलौज भएको कुरा जानकारी गराएको र सो कार्यमा संलग्न धनुषेको खोजी भईरहेको उनले बताए । धनुषेलाई फेला पारेपछि घटनाका बिषयमा थप जानकारी हुने प्रहरी निरीक्षक सुनारले बताए ।

प्रतिक्रिया