Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३९

'गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज'को फाइनलमा सुशितम कीकेट क्लब पन्ज्युनयाँ र कैलपाल भिड्दै

Wide Nepal News
आइतबार, असोज २४, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरमा संचालित दोस्रो संस्करणको 'गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज २०७८' को फाइनल खेल सुशितम क्रीकेट क्लब पन्ज्युनयाँ र कैलपाल क्रीकेट क्लब बैतडीका बिच हुने भएको छ । दानेश्वर-नागार्जुन क्रीकेट क्लब गोकुलेश्वरले आयोजनामा गत असोज १६ गतेदेखी गोकुलेश्वर खेलमैदानमा संचालन भइरहेको वर्षकै सर्वाधिक धनराशिको प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलको पहिलो खेलमा बिथ्थडलाई १८ रन अन्तरले पराजित गर्दै कैलपाल क्रीकेट क्लब बैतडी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । हिजो भएको सेमिफाइनलको अर्को खेलमा निराजन ट्रेडर्स गोकुलेश्वरसित २० रनको जित निकाल्दै सुशितम क्रीकेट क्लब पन्ज्युनयाँले आफ्नो फाइनलको यात्रा सुनिश्चित गरेको हो । प्रतियोगिताको फाइनल खेल आइतबार (आज) दिउँसो २ बजेदेखि संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम खेलमा बलिया २ टोली सुशितम क्रीकेट क्लब र कैलपाल क्रीकेट क्लब बिच निक्कै नै प्रतिस्पर्धात्मक खेल हुने आयोजकको दाबी रहेको छ । असोज १६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा दार्चुला, बैतडी तथा डडेल्धुराका विभिन्न १६ टिमको सहभागिता रहेको बताइएको छ । प्रतियोगिताको उपाधी विजेताले नगद रू. ६५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको उपविजेताले नगद रू. २५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय हुने टिमले नगद रू. ११ हजार ५ सय ५५ मा चित्त बुझाउनुपर्ने छ । यसैगरी प्रतियोगितामा 'म्यान अफ द म्याच', 'बेस्ट बलर', 'बेस्ट ब्याट्सम्यान', 'इमर्जिङ्ग प्लेयर' र 'प्लेअर अफ द टुर्नामेन्ट' लगायतका विधामा खेलाडीहरूलाई पुरस्कृत गर्ने आयोजक 'नागार्जुन क्रीकेट क्लब' का अध्यक्ष करन बिष्टले जानकारी दिएका छन् । गत वर्षको असोज महिनामा सम्पन्न भएको पहिलो संस्करणको 'गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज २०७७' को उपाधी पिपलकोट क्रीकेट क्लबलाई पराजित गर्दै निङ्गलाशैनी क्रीकेट क्लब देहिमाण्डु, बैतडीले हात पारेको थियो ।

प्रतिक्रिया