Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:५९

दोस्रो संस्करणको 'गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज' को उपाधी कैलपाल क्रीकेट क्लबलाई 

Wide Nepal News
आइतबार, असोज २४, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरस्थित गोकुलेश्वर खेलमैदानमा सञ्चालित गोकुलेश्वर टी-२० क्रीकेट च्यालेन्ज २०७८ को उपाधी कैलपाल क्रीकेट क्लब दशरथचन्द नगरपालिका, बैतडीले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा सुशितम क्रीकेट क्लब पन्ज्युनयाँलाई सुपर ओभरमा हराउदै कैलपाल क्रीकेट क्लबले उपाधी जितेको हो । समान २०/२० ओभरको खेलमा टस हारेर ब्याटिङ गरेको सुशितम क्रीकेट क्लबले सबै ओभर खेल्दै आफ्नो टिमका लागि १ सय ३३ रन जोडेको थियो । १ सय ३४ रनको लक्ष्य पन्छ्याउने  लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको कैलपालले आफ्ना सबै विकेट गुमाउँदा १३३ रन जोडेपछि खेल सुपर ओभरमा परिणत भएको थियो । सुपर ओभरमा कैलपाल क्रीकेट क्लब बैतडीले उत्कृष्ट प्रदर्शन देखाउदै सुशितम क्रीकेट क्लबसित जित निकालेको आयोजक नागार्जुन क्रीकेट क्लबले जनाएको छ । यसैबीच प्रतियोगितामा 'बेस्ट बलर' को उपाधी सुशितम क्रीकेट क्लबका खेलाडी किरन कार्कीले हात पारेका छन् भने 'बेस्ट ब्याट्सम्यान' निराजन ट्रेडर्स गोकुलेश्वरका खेलाडी दिनेश बिष्ट घोषित भएका छन् । उनले प्रतियोगिता अवधिभर जम्मा ३ खेल खेल्दै १८४ रन जोड्दै 'बेस्ट ब्याट्सम्यान' को उपाधी जितेका हुन् । यस्तै प्रतियोगितामा  'इमर्जिङ्ग प्लेअर'  को उपाधी उपविजेता टोलि सुशितम क्रीकेट क्लबका १४ वर्षीय खेलाडी शुदिप कार्कीले हात पारेका छन् , भने सुशितम क्रीकेट क्लब पन्ज्युनयाँकै अर्का खेलाडी अशोक कार्की 'प्लेअर अफ द टुर्नामेन्ट' घोषित भएको आयोजकले बताएको छ । असोज १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा दार्चुला, बैतडी तथा डडेल्धुराका विभिन्न १६ टिमको सहभागिता रहेको बताइएको छ । प्रतियोगिताको उपाधी विजेता कैलपाल क्रीकेट क्लब बैतडीले नगद रू. ६५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको उपविजेता टोलि सुशितम क्रीकेट क्लब ले नगद रू. २५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, भने प्रतियोगितामा सान्त्वना स्थान बनाउने टिम बिथ्थडले नगद रू. ११ हजार ५ सय ५५ सहित पुरस्कृत भएका छन् ।

प्रतिक्रिया