Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:११

गोकुलेश्वरसहित दार्चुलामा १ सय ८३ गणकलाई राष्ट्रिय जनगणना २०७८ सम्बन्धि तालिम सञ्चालन

Wide Nepal News
शनिबार, कार्तिक १३, २०७८

दार्चुला : ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने नारा अन्तर्गत देशभर १२औं राष्ट्रिय जनगणना २०७८ को तयारी तिव्र पारिएको छ । यसैबिच राष्ट्रिय जनगणना कार्यालय दार्चुलाले जिल्लाका दुई नगरपालिका तथा सातवटा गाउँपालिकाका १ सय ८३ जना गणकलाई राष्ट्रिय जनगणना २०७८ सम्बन्धि ४ दिने तालिम संचालनमा ल्याएको छ ।

जिल्लामा छनोट भएका गणकलाई जिल्लाका विभिन्न ३ स्थानबाट तालिम संचालन गरिएको छ । जिल्लाका ९ स्थानीय तहअन्तर्गत व्याँस गाउँपालिका, दुँहु गाउँपालिका, नौगाड गाउँपालिका तथा महाकाली नगरपालिकाका गणकहरू सदरमुकाम खलंगामा तालिममा सहभागी भएका छन् ।

यस्तै जिल्लाका मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका अन्तर्गतका गणकलाई मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर पस्तीमा तथा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपलिका अन्तर्गतका गणकलाई गोकुलेश्वरमा तालिमको आयोजना गरिएको राष्ट्रिय जनगणना कार्यालय दार्चुलाले जनाएको छ ।

यसैबीच स्थानीय जनगणना कार्यालय गोकुलेश्वरले पनि एक समारोहका बिच शनिबार (आज) गोकुलेश्वर बहुमुखी क्याम्पसको हलमा गणकहरूको तालिम सञ्चालन गरेको छ । अपिहिमाल गाउँपालिका , मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका ५९ जना गणक तथा २ जना सुपरिवेक्षक गरि जम्मा ६१ जनालाई कार्तिक १६ गतेसम्मका लागि चार दिने तालिम दिन शुरु गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका सूचना अधिकारी जनकसिंह बोहराले जानकारी दिएका छन् ।

राष्ट्रिय जनगणना २०७८ का लागि जिल्ला जनगणना कार्यालय दार्चुलाका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिकामा ३१ जना व्यासँ गाउँपालिका र दुहुँ गाउँपालिकामा समान १३/१३ जना तथा मालिकार्जुन गाउँपालिका लेकम गाउँपालिका तथा नौगाड गाउँपालिकामा पनि समान २०/२० जनाको नाम सार्वजनिक गरिएको छ । यस्तै मार्मा गाउँपालिकामा १९ जना अपिहिमाल गाउँपालिकामा ९ जनागरी जिल्लाभरीबाट १ सय ८३ जनाको नाम सार्वजनिक गरिएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको थियो । 

छनोट भएका गणकलाई दार्चुला जिल्लाका प्रत्येक घरधुरीहरुमा गई आवश्यक प्रश्नावली भर्ने लगायतका आधारभुत कुराहरूको सीप तथा ज्ञान अभिवृद्धि गर्न तालिम संचालन गरिएको सूचना अधिकारी बोहराले बताए ।

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो ।

प्रतिक्रिया