Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:२३

सोसल भोलेन्टियर्स ग्रुपद्वारा दार्चुलाका २ सय ४ बाढी, पहिरो पीडित परिवारलाई राहत वितरण 

Wide Nepal News
मङ्गलबार, कार्तिक १६, २०७८

दार्चुला : दुहुँ गाउँपालिकाका बाढी, पहिरो पीडित परिवारहरुलाई सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाद्वारा मंगलबार (आज) राहत वितरण गरिएको छ ।

सामाजिक सञ्जालमार्फत विभिन्न दातृ निकाय तथा व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरी दुहुँका बाढीपहिरो पिडित परिवारलाई राहत वितरण गरिएको सोसल भोलेन्टियर्स ग्रुपका संयोजक एवं अधिवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । खाद्यान्न, लुगाकपडा खरिद गरी पीडित परिवारलाई वितरण गरिएको अधिवक्ता महराले बताए ।

सहयोग गर्ने देश तथा विदेशमा रहेकाहरुको नामावलीसहित रकम समेत संयोजक महराले सबैलाई जानकारी गराए । दुहुँ गाउँपालिकाका विभिन्न वडाका ४६ घर पूर्ण क्षति भएका बाढी पहिरो पीडित र १५८ वटा आंशिक क्षति तथा उच्च जोखिम रहेका पीडित परिवारलाई ग्रुपले राहत वितरण गरेको हो ।

गौरापर्वको अघिल्लो राती गत भाद्र १३ गतेको बाढी पहिरोका कारण दुहुँ गाउँपालिकामा ठूलो जनधनको क्षति भएको थियो । बाढीपिडितको बिचल्ली भएपछि विभिन्न संस्था तथा समूह गरी ७० जनाले राहत रकम उपलब्ध गराएका थिए । राहत वितरणका लागि ग्रुपले जम्मा २०४ जना पीडितको सूचि तयार पारेको थियो ।

सोसल भोलियन्टियर्स ग्रुप दार्चुलाका संयोजक एवं अधिवक्ता कृष्ण बहादुर महराको अध्यक्षता एवं जिल्ला विपद् व्यवस्थापन समिति दार्चुला प्रमुख एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की विशिष्ट अतिथि रहेको कार्यक्रममा नेपाल प्रहरीका डिएसपी मनोहर प्रसाद भट्ट, सशस्त्र डिएसपी बीरसिंह धामी, अनुसन्धान अधिकृत, रेडक्रस दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थी,नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया