Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३०

दार्चुला सीमामा नेपालीलाई घण्टौं लाइनमा कुराउँदै इन्ट्री गर्छ एसएसबी

Wide Nepal News
शुक्रबार, मङि्सर १७, २०७८

दार्चुला : महाकाली नगरपालिका–४ का राधिका लुहारलाई आज बिहान भारि खोज्न भारतीय बजार जान नेपाल–भारत जोड्ने पूल काटेर पारि धारर्चुला प्रवेश गर्ने क्रममा भारतीय एसएसबीले रोकिदिए । दार्चुला सदरमुकाम खलंगामा भारी बोक्ने काम केही नपाउँदा भौतारिदै पारि धारचुला जान खोजेका थिए । तर एसएसबीले नागरिकता वा परिचय पत्र देखाउन भन्दै लुहारलाई पूल छेउमै रोकिदिए ।

उहाँले नागरिकता बोकेका थिएनन् । नागरिक परिचय पत्र खुल्ने केही कागज नभेटिए पछि उहाँलाई धारचुला प्रवेशमा भारतीय सीमा सुरक्षा बल एसएसबीले पूलबाटै फर्काइदिए । पूलबाट फर्काइ दिएपछि उहाँले दिनभर काम पाएनन् । दैनिक भारी बोकेर मजदुरी गरेर दैनिकी टार्दै आएकी लुहारको बेलुकीको चूलो नबोल्ने चिन्तामा छन् ।

मालिकार्जुन २ का बीरसिह धामी औषधी ल्याउन धारचुला बजार जाँदै थिए । पकेटमा नागरिकता बोकेको भए पनि पूलपारी सयौं नेपालीलाई लाइनमा रोकेर राखिएको थियो । सबैको नागरिकता अनुसार तिनपुस्ते विवरण एसएसबीले टिप्दै थियो । एक जनाको नाम इन्ट्रीमै ५ देखि ७ मिनेट लगाउँदा घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था आएपछि औषधी नलिएरै नेपाल फर्किए उहाँले सुनाउनुभयो । नेपाल फर्किने क्रममा धामीले भन्नुभयोे, ‘घण्टौं लाइनमा कुरेर भारतमा औषधी लिन किन जानु । बरु डडेल्धुरा धनगढीबाट मगाउनुपर्ला ।’

एकसातायता भारतीय एसएसबीले नेपालीलाई भारत  प्रवेशमा परिचय पत्र अथवा नेपाली नागरिकता र कोरोना खोप लगाएको कार्ड समेत माग्न थालेको छ । दैनिक उपभोग्य समान ल्याउन जाने नेपालीलाई अहिले परिचय पत्र मागेर एसएसबीले सीमामा दुख दिएको स्थानीय मञ्जु भूलले बताउनुभयो । ‘अहिलेसम्म हामी पारिबाटै वारी भारी बोक्ने, धारचुलाका पसलहरुमा समान ओसारपसार गरेर गुजारा चलाउँदै आएका थियौं,’ उहाँले भन्नुभयो, ‘तर अहिले पारि जान नपाउँदा दैनिक छाक टार्न धौधौ भएको छ ।’

सदरमुकाम खलंगा वरपरकालाई नागरिकता बोन्नुपर्छ भन्ने जानकारी भयो, तर गाउँबाट आएकाहरुले भारतीय बजार नपुगि फर्किनुपरेको छ भूलले सुनाउनुभयो । पहिले सामान्य चेकजाँच गरेर धारचुला बजार जान दिने गरेकोमा अहिले तिन पुस्ते विवरण र पचिय खुल्ने कार्ड मागेर सर्वसाधारणलाई सीमामा हैरानी पुर्याएको छ । भारतीय बजार धारचुलामा निर्भर रहेका मजदुरको अहिले दैनिकी टार्न मुस्किल छ । वारी दार्चुला बजारमा भारी बोक्ने काम समेत पाइदैन् । सानो बजार भएको कारण मजदुरी गर्नेको संख्या बढ्दो छ ।

यहाँ काम पाउने भनेको तराईबाट गाडी आउँदा बिहानको समयमा थोरै भारि पाइन्छ, कैलाली टिकापुर घर भई सदरमुकाम खलंगामा भारी बोक्दै आएका मोहन थापाले भन्नुभयो । अहिले खलंगामा कैलाली, बझाङ, बैतडी लगायतका दर्जनौ मजदुर भारी बोक्ने गर्छन् । त्यो बाहेक स्थानीय पनि त्यही गाडीको भारि बोक्ने काम थालेपछि काम पाउँनै मुस्किल भएको उहाँले बताउनुभयो । धारचुला बजार हुँदा पारी पनि काम पाइन्थ्यो, अहिले कडाई गरेपछि समस्या भएको छ उहाँले भन्नुभयो ।

गत शनिबार दार्चुला, बैतडी र भारत पिथौरागढका जिल्ला अधिकारीबीच पिथौरागढमा सीमा समन्वय बैठक बसेको थियो । बैठकमा भारतसँग सीमा जोडिएका दार्चुला बैतडी र पिथौरागढका जिल्ला अधिकारी सहभागि थिए । कोरोनाका कारण दुई वर्षसम्म बस्न नसकेको बैठक बसेको हो ।

बैठकमा सीमामा नागरिकलाई दुव्र्यवहार नगर्ने देखि सीमा आवतजावतमा सहजता तुल्याउनेसम्मको छलफल भएको थियो । नेपाली पक्षले सीमामा नेपालीमाथि बढ्दो दुव्र्यवहार रोक्नुपर्ने एजेण्डा राखेको थियो । नेपाली पक्षले राखेको एजेण्डामा सहमति जनाए पनि व्यवहारमा अहिले भारतले निर्णय कार्यान्वयन नगरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले बताउनुभयो ।

‘मौखिक छलफल गर्दा सबै हुन्छ, हुँदैन केही पनि भन्दैनन्,’ प्रजिअ जोशीले भन्नुभयो, ‘तर उनीहरुले प्रतिबद्वता गरेका कुरा व्यवहारमा भने देखिदैन् ।’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि आज सार्वजनिक सूचना जारी गर्दै कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण भित्रिन नदिन सीमा चेकजाँचमा कडाई गर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी जोशीद्वारा हस्ताक्षरित सूचनामा नयाँ भेरियन्टलाई समयमै सावधानी अपनाई नेपाल प्रवेश हुन नदिने र जनजीवनलाई सामान्य बनाई राख्न नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमा नाकामा भारतबाट नेपाल प्रवेश गर्ने सबै नागरिकलाई कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र देखाएमा मात्रै प्रवेश दिन भनिएको छ । खासगरी रोजगारीका लागि भारत जाने तथा दैनिक मजदुरी गर्न धारचुला बजारमा जानेहरु अहिले समस्यामा परेका छन् । दैनिक उपभोग्य वस्तु पनि धारचुला बजारबाटै आउने गर्छ । तर अहिले भारतले सीमामा सास्तीदिदा नेपालीले एसएसबीबाट दुव्र्यवहार समेत खेप्नुपरेको छ । भारतीय दुव्र्यवहारलाई कम गराउन नेपाली प्रशासनले पनि कडाई गर्दै लिने गरी काउन्टर सूचना जारी गरेको हो ।

यति टाढा पुगेपछि परिचय पत्रका लागि फेरी घर फर्किनु पर्दा समय र आर्थिक ब्ययभार थपिने गर्छ स्थानीय भन्छन् । सीमा पूलका प्रहरीका अनुसार धारचुला आवत जावत गर्दा माथिको आदेश भन्दै एसएसबीले घण्टौं लाइनमा उभ्याउने गरेको बताउँछन् । हामीलाई पनि माथिकै आदेश भनेर जानकारी गराएका छन्, पूलघाटमा कार्यरत सुरक्षाकर्मीले भन्नुभयो पाँच सात दिनयता नेपालीले सीमामा सास्ती भोगेका छन् ।

समान ल्याउन रोकटोक नलगाएको भए पनि आवतजावत गर्दा केही असहजता ल्याएका छन् । विगतमा वारीपारीको समन्वयमा पूल बन्द भइसके पनि खुलाउने गरेकोमा अहिले सवाँ पाँच बजेपछि पूल खुलाउन समेत रोकिएको छ । अहिले धारचुलामा एसएसबीका डिएसपी आएयता आवतजावत गर्न र रातीको समयमा अप्ठ्यारो हुँदा पूल खुलाउने काम समेत बन्द भएको छ ।

उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिह थापा नेपाली व्यापारी र सर्वसाधारणले भारत प्रवेशमा रोक लगाएकोबारे प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशी र भारतीय व्यापार मण्डललाई ध्यानकर्षण गराएको बताउँछन् । ‘आवतजावत सहज बनाउने विषयमा भारतीय व्यापार मण्डलसँग छलफल भएको छ,’ उहाँले भन्नुभयो ‘भारतीय पक्षबाट धारर्चुला प्रवेशमा सहजता नभए सोमबार नेपालीलाई भारत जान रोक लगाउँछौ ।’ कुनै पनि नेपाली सीमा पूल भएर धारचुला जान बन्द गर्ने गरी छलफल थालिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया