Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:२८

बैतडीमा जिप दुर्घटना हुँदा नवविवाहित जोडीसहित ४ जनाको मृत्यु, ६ घाइते

Wide Nepal News
सोमबार, मङि्सर २०, २०७८
सोमबार साँझ बैतडीमा जिप दुर्घटना हुँदा एक नवविवाहित जोडी सहित चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर पाटन नगरपालिका वडा नम्बर ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उहाँका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका वडा नम्बर १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेको हो । मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु घरबाट माइती फर्कदै गरेको बताइएको छ । दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । चालक फरार रहेको शाहीले बताउनुभयो ।

प्रतिक्रिया