Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५३

दार्चुलामा डिएसपी भट्टको नेतृत्वमा प्रहरीले थाल्यो 'तपाईंको मास्क खै' अभियान,

Wide Nepal News
सोमबार, माघ १०, २०७८
दार्चुला : कोरोना सङ्क्रमणको तेस्रो लहर बढेसङ्गै जिल्लामा प्रहरीले ‘तपाईँको मास्क खै’ अभियान सञ्चालनमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबारदेखि 'तपाईंको मास्क खै' अभियान सञ्चालनमा ल्याएको हो । जिल्लामा ओमिक्रोनको प्रकोप बढेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण बढ्न थालेपछि प्रहरीले जिल्ला कोभिड व्यावस्थापन समिति (डिसिसिएमसी) , जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयसङ्गको सहकार्यमा अहिले संयुक्तरुपमा ‘तपाईँको मास्क खै ?’ अभियान सुरु गरेको छ । अभियानको दोस्रो दिन आज सोमबार  जिल्लाको सदरमुकाम क्षेत्रमा सचेतना सहित स्थानीयलाई मास्क वितरण गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक डिएसपी मनोहर प्रसाद भट्ट आफै बजारमा निस्किएका छन् । जनचेतना अभियानमा निस्किएको डिएसपी भट्टको टोलीले मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए । यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए । बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको जनाइएको छ । अभियानकर्मीले ‘तपाईँको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए । ‘तपाईँहरूसँग मास्क छैन भनेर दिइएको होइन,’ अभियानको क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले भने, ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं, कोरोनाबाट सुरक्षित रहौँ भनेका हौँ ।' अहिले स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामूलक कार्यक्रम थालिएको प्रहरीले जनाएको छ । अभियानमा सहभागीले ‘तपाईँको मास्क खै?, मास्कको नियमित प्रयोग गरौँ, भौतिक दुरी कायम गरौँ–गराऔँ, भिडभाड नगरौँ, भीडमाडमा नजाऔँ, अनावश्यक हिँडडुल नगरौँ’ लगायतका सन्देश दिन थालिएको छ । जनचेतना अभियान जिल्लामा निरन्तर रुपमा चलाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया