Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३४

राप्रपाका युवा नेता तथा साहित्यकार लेखकद्वारा पार्टी परित्याग

Wide Nepal News
बुधबार, माघ १९, २०७८
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता तथा साहित्यकार हेमबाबु लेखकले राजनीतिबाट अलग्गिने घोषणा गरेका छन् । उनले अबको समय सामाजिक र साहित्यिक कर्ममै खर्चिने बताएका हुन् । राप्रपाको केन्द्रीय सदस्य, विभागीय जिम्मेवारी, प्रदेश प्रवक्ता हुँदै कञ्चनपुर जिल्ला सचिवको जिम्मेवारीमा रहेका लेखकले बुधवार सामाजिक सञ्जाल फेसबुकमा तत्कालिक रुपमा सक्रिय राजनीति त्यागेको बताएका छन् । ‘मैले राप्रपाको जिल्ला र केन्द्रीय कार्यालयमा राजिनामा पत्र पठाइसकेको छु,’ उनले भने, ‘राप्रपाको साधारण सदस्यसमेत नरहने गरी बिदा लिनुपर्ने निष्कर्षमा पुगेको छु ।’ लेखकले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, निवर्तमान अध्यक्ष कमल थापा, पूर्वमहामन्त्री जयन्त चन्द, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष लगायतका नेतृत्वसँग प्रत्यक्ष कुराकानी गरेर राप्रपाको सक्रिय एवं सांगठनिक राजनीतिबाट अलग्गिने घोषणा गरेको बताए । लेखकले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट राजिनामा दिएको घोषणा गरेसंगै सो बिषयलाई लिएर अहिले सुदूरपश्चिममा उनका शुभचिन्तकहरुले चासो व्यक्त गरिरहेका छन् । बौद्धिक एवं इमानदार नेताका रुपमा चिनिने लेखक साहित्यकार समेत हुन् । उनका आधा दर्जन पुस्तक प्रकाशित छन् । सुदूरपश्चिमको इतिहास, संस्कृति र साहित्यमा लामो समयदेखि क्रियाशील लेखक अखण्ड सुदूरपश्चिम आन्दोलनको मुख्य अगुवा पनि मानिन्छन् । उनकै रणनीति अनुरुप अखण्ड सुदूरपश्चिम आन्दोलन प्रारम्भ भएको थियो, पछि सो मुद्दामा नेपालका राजनितिक दलहरु नेपाली काँग्रेस तथा कम्युनिस्ट सबै एकमत भएका थिए । फेसबुकमा उनले राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष थापा, बर्तमान अध्यक्ष लिङ्देन, बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दसँग खिचेका तस्विर सार्बजनिक गर्दै अबदेखि सामाजिक र साहित्यिक सक्रियता बढाउने जानकारी गराएका छन् ।

प्रतिक्रिया