Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२८

भारी हिमपातपछि दार्चुलाको जनजीवन कष्टकर, हिउँ पग्लाएर पानी बनाउँदै छाङ्गरुका सुरक्षाकर्मी

Wide Nepal News
शुक्रबार, माघ २१, २०७८
दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको एक सुरक्षाकर्मीले बताए। ‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन’, ती सुरक्षाकर्मीले भने, ‘हिउँ पगालेर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै वरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउँछौँ।’ चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको छ। अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन्। पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ। गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ। अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ। यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बाह्रैमास बस्न थालेको हो। गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पगालेरै पानीको प्रयोग गर्नुपरेको थियो। जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा हिमपात भएको स्थानीय इन्द्र सिह धामीले जानकारी दिएका छन। -महेन्द्रनगर पोष्टबाट

प्रतिक्रिया