Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३२

उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपाल-भारत सीमा २ दिन बन्द गरिने

Wide Nepal News
बुधबार, माघ २६, २०७८
भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ । १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरि आगामी माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजेसम्म नेपाल-भारत सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा नेपाल-भारत जोड्ने खलंगा, लाली, जोलजिवि, दत्तु, तिग्रम र सीतापुल गरि छ वटा सीमापुलसहित दार्चुला र बैतडीका सीमा नाकाहरु बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सीमापुलहरु दैनिक विहान ७ बजे देखि बेलुका ५ बजेसम्म नेपाल-भारत आवत जावतका लागि खुला गर्ने गरिएको छ । निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुका देखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनले समेत जानकारी गराएको छ । दुबै देशमा निर्वाचनको समयमा सीमा क्षेत्रमा निगरानी गर्ने, शान्ति र सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने गरिएको छ । केहि दिन पहिले भर्चुअल माध्यमबाट सम्पन्न नेपाल-भारत सीमा बैठकमा समेत निर्वाचनको समयमा सीमा नाका बन्द गर्ने विषयमा सहमति भएको थियो । अत्यावश्यक कामका लागि दुबै देशको प्रशासनको समन्वयमा सीमा नाका खोल्ने गरिएको छ । भने अत्यावश्यक कामबाहेक रातीको समयमा सीमा पुलहरु बन्द गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यसअघि सम्पन्न भएका नेपालका र भारतका सबै निर्वाचनमा ४८ देखि ७२ घण्टासम्म सीमा नाकाहरु बन्द गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

प्रतिक्रिया