Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:४५

दार्चुलाको नौगाडमा भेटिएको बेलुनसहितको उपकरण भारतले पठाएको पुष्टि

Wide Nepal News
शनिबार, माघ २९, २०७८
दार्चुला : नौगाड गाउँपालिका–३ ढामडेरामा भेटिएको बेलुनसहितको उपकरण भारतीय मौसम विभागले पठाएको पुष्टि भएको छ । मौसम सम्बन्धि जानकारी संकलनका लागि देहरादूनस्थित मौसम विज्ञान केन्द्रले बेलुनमा उपकरण राखेर उडाएको हो । उत्तराखण्डको मौसमबारे जानकारी संकलनका लागि बेलुनसहितको उपकरण पठाएको मौसम विज्ञान केन्द्र देहरादूनका अस्सिटेन्ट अनुराग नेगीले बताए । ‘हावा कुन दिशातिर बहिरहेको छ, त्यसको गति कति छ ? भनेर पत्ता लगाउनका लागि डिभाइससहितको बेलुन उडाउँछौं,’ उनले भने, ‘देहरादूनमा उडाएको बेलुन कहिलेकाही धार्चुला हुँदै नेपालसम्म पुग्छ ।’ डेढ महिना अघि बेलुनमा उपकरण जडान गरेर उडाइरहेको उनले बताए । ‘कहिले पिथौरागढ त कहिले धार्चुलासम्म बेलुन पुग्छ,’ उनले भने, ‘३२ ग्रामको बेलुन हुन्छ, हावाको दिशा अनुसार जाने हो । त्यसमा भएको डिभाइसमार्फत हामीले मौसम सम्बन्धि सूचना पाउने हो ।’ बेलुन उडाएपछि त्यसलाई देहरादूनबाटै नियन्त्रण गर्न सकिने प्रबिधि नभएको पनि उनले बताए । ‘त्यसमा हामीले मौसम बिभागको टेलिफोन नम्बर लेखेका हुन्छौँ,’ उनले भने, ‘कुनै अनाधिकृत स्थानमा खसेमा वा त्यसबारे भ्रम सृजना भएमा हामीलाई खबर गर्न सकिन्छ ।’ उक्त बेलुन दार्चुलाको नौगाडमा खसेको अवस्थामा भेटिएपछि त्यसमा भएको नम्बरमा स्थानीयले हिजै फोन लगाएका थिए । आफूहरुले स्थानीयको भ्रम निवारण गरेको पनि मौसम बिज्ञान केन्द्र देहरादूनका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया