आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैआज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
रासस
सोमबार, कार्तिक १०, २०८२
सूर्यको आराधना, उपासना र पूजा गर्दै आज देशभर छठ पर्वको मुख्य दिन उल्लासपूर्वक मनाइँदैछ। साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो पर्व सम्पन्न हुने परम्परा छ। छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने भए पनि यसको मुख्य दिन शुक्ल षष्ठीमा कठोर निराहार व्रत बसी सूर्यदेवको आराधना गर्ने चलन छ। व्रतालुले चोखो खानपान, शुद्धता, संयम र अनुशासन कायम राखी व्रत बस्ने परम्परा रहिआएको छ।
पौराणिक तथा ऐतिहासिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफलतापूर्वक सम्पन्न होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यसै घटनाबाट छठ पर्व मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ। सूर्य पुराण अनुसार अत्रि मुनीकी पत्नी अनुसूयाले छठ व्रत गरी अचल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्, र यही प्रसंगबाट छठ पर्वको धार्मिक स्वरूप स्थापित हुन गएको जनविश्वास छ।
सूर्यलाई जीवनको मूलशक्ति मानिन्छ। सूर्यकिरण बिना पृथ्वीमा वनस्पति, जीवजन्तु तथा मानव जीवन सम्भव छैन। सूर्यकिरणबाट अनेक रोगहरूको उपचार सम्भव भएको चर्चा प्राचीन ग्रन्थ र आयुर्वेदमा पाइन्छ। साम्ब पुराणमा उल्लेख भएअनुसार कृष्णपुत्र साम्बले सूर्यको कठोर तपश्चर्या गरेर कुष्ठरोगबाट मुक्ति पाएको कथा छ। यसैले छठ व्रत बस्दा दुःख, दरिद्रता र रोग व्याधिबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ। सूर्यलाई झुप्पा–झुप्पा फल अर्पण गर्दा परिवार तथा सन्तानको कल्याण हुन्छ भन्ने आस्थासमेत छ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक मात्र भोजन गरेका व्रतालुले पञ्चमीका दिन सख्खर हालेर बनाएको खीर (खरना) षष्ठी मातालाई चढाई थोरैमात्र प्रसाद ग्रहण गर्छन्। त्यसपछि षष्ठीका मुख्य दिन कठोर निराहार व्रत बसेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने विधि रहन्छ। त्यस रात व्रतालु जाग्राम बसेर भोलिपल्ट कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत विधिपूर्वक समापन हुन्छ। कात्तिक शुक्लपक्षमा सूर्यको यस्तो पूजा आराधना गरेमा चर्म रोग नलाग्ने धार्मिक मान्यता छ।
वि.सं. २०४६ अघि मुख्यतः तराई क्षेत्रमा सीमित रहेको छठ पर्व अहिले राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ। सरकार वि.सं. २०४६ यतादेखि नै छठको अवसरमा देशभर सार्वजनिक बिदा दिँदै आएको छ। छठ पर्वको तयारीसहित कैलालीमा धनगढीको महोना नदी र गोदावरीको नदी किनारमा विशेषरूपमा सजावट गरिएको छ, जहाँ आज साँझ र भोलि बिहान ठूलो संख्यामा भक्तजनहरूको भीड लाग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया