राजनीतिक दबाबमा रोकिएको ठूला अनुसन्धानको फाइल खोल्न सीआइबीलाई गृहमन्त्रीको निर्देशन
सम्बाददाता
शुक्रबार, असोज १०, २०८२
गृहमन्त्री ओम प्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै ठूला फाइलका अनुसन्धान अघि बढाउन सीआइबीलाई निर्देशन दिएका छन् ।
शुक्रबार सीआईबीको केन्द्रिय कार्यालय लैनचौर पुगेर गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन्। सीआईबीलाई कुनै पनि राजनीतिक दबाब र प्रभावमा नपरी काम गर्न र राजनीतिक दबाबमा यस अघि रोकिएको फाइल अनुसन्धान अघि बढाउन गृहमन्त्री अर्यालले निर्देशन दिएको गृह मन्त्रालय स्रोतले सिधाकुरालाई बतायो।
‘गृहमन्त्री अर्याल आज बिहान अनुगमनका लागि सीआईबी पुग्नु भएको थियो,’ मन्त्रालय स्रोतले सिधाकुरासँग भन्यो,‘कुनै पनि दबाब महसुस नगरी काम गर्न र यस अघि राजनीतिक दबाबका कारण रोकिएका कुनै फाइल तथा अनुसन्धान छ भने त्यसलाई अघि बढाउन निर्देशन दिनुभयो ।’
गृहमन्त्रीको निरीक्षण तथा अनुगमनमा प्रहरी महानिरीक्षक कुवेरचन्द्र खापुङ, सीआईबी प्रमुख एआईजी डा.मनोज केसी लगायतका अधिकारीहरू सहभागी थिए । गृह मन्त्रालयको जिम्मेवारीमा अर्याल आए लगत्तै एआईजी मनोज केसीको सीआईबीमा सरुवा भएको थियो।
प्रतिक्रिया