Wide Nepal News सोमबार १६, भदौ २०८२ ०९:१०

डिलासैनी ५ को प्रशासकीय भवनको उद्योग मन्त्री भण्डारीद्धारा उद्घाटन

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ १६, २०८२
डिलासैनी ५ को प्रशासकीय भवनको उद्योग मन्त्री भण्डारीद्धारा उद्घाटन
बैतडीको डिलाशैनी गाउँपालिकास्थित ५ नम्बर वडा कार्यालयको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको रु ७१ लाखको लागतमा तिलाचौरमा निर्माण गरिएको वडा कार्यालयको एक समारोहकाबिच औपचारिक रुपमा उद्घाटन गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्टका अनुसार यसअघि भाडाको भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्दै आएकोमा अबदेखि आफ्नै दुईतले प्रशासकीय भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ। सोमबार एक समारोहका बिच वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् । वडाध्यक्ष भट्टको अध्यक्ष्यतामा आयोजित नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहमा प्रमुख अतिथि मन्त्री भण्डारी रहेका थिए भने समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल तथा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । यससंगै डिलाशैनी गाउँपालिका वडा नम्बर १, २ र ५ नम्बर वडाका कार्यालय भवन निर्माण भइसकेको छन्। पालिकाको भवन निर्माणका लागि पनि राष्ट्र्यि योजना आयोगबाट झण्डै ७ करोड बजेट र गाउँपालिकाबाट रु एक करोड २२ लाख बजेट सुनिश्चित भएकाले आगामी दुई वर्षभित्र गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरिने गरि तयारी भइरहेको गाउँपालिका अध्यक्ष जोशीले बताए । वडा कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष जोशीले गोकुलेश्वरदेखि गाउँपालिका सदरमुकामसम्मको झण्डै १८ किलोमिटर सडक कालोपत्रे गर्न विश्व बैंकसित सम्झौता भई प्रक्रियामा रहेको बताए । उनले गाउँपालिकाको भौतिक, सामाजिक विकासका लागि आफूहरुले काम गरिरहेको उल्लेख गरे । यस्तै भवन उद्घाटन समारोह प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पाल तथा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले समेत डिलासैनी गाउँपालिकाको समग्र विकासका लागि तीनै तहका सरकारले सहकार्य गरि काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको समापन समारोहमा बोल्दै वडाध्यक्ष भट्टले वडाको समग्र विकासका लागि आफू मन, वचन र कर्मले प्रतिबद्ध भइ काम गरिरहेको उल्लेख गर्दै वडा कार्यालय भवन निर्माणमा सहयोग पुर्याउने गाउँ कार्यपालिका सदस्य, जग्गादाता, निर्माण व्यवसायी लयागत सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया