Wide Nepal News सोमबार ०२, असार २०८२ ०२:१६

अमर जीवन माग्दै छन्, त्यो तपाईं दिन सक्नुहुन्छ, प्रधानमन्त्रीज्यू

सम्बाददाता सम्बाददाता
आइतबार, असार ०१, २०८२
अमर जीवन माग्दै छन्, त्यो तपाईं दिन सक्नुहुन्छ, प्रधानमन्त्रीज्यू
दार्चुलाका अमरबहादुर बम २२ वर्षदेखि दुबईको जेलमा ‘मृत्युदण्ड’ कुर्दै छन् । दुई भारतीय नागरिकले गरेको एक हत्या घटनामा उनी ड्राइभर भएकैले मात्र परिबन्दमा जोडिएका छन् । उनलाई हत्याबारे न थाहा थियो, न त्यसको योजना नै । तर, अदालतले ‘मतियार’ ठहर्‍यायो । त्यहाँका राजालाई हाम्रा प्रधानमन्त्रीले गएर आग्रह गर्ने हो भने ‘आममाफी’ सम्भव छ । अमरको अपिल छ, ‘प्रधानमन्त्रीज्यू, कृपया मलाई बचाइदिनुहोस् ।’ काठमाडौं : मुद्दा नम्बर ६९०/२००३ । दुबई अदालतको स्रेस्तामा धेरै भित्र पसिसकेको यो नम्बरले नै भन्छ, मुद्दा २२ वर्ष पुरानो हो । तर, यसले एक निर्दोष नेपालीको यस्तो दस्ताबेज बोकेको छ, जसलाई सल्टाउन नसक्ने हो भने देशैलाई पाप लाग्छ । त्यसैले प्रधानमन्त्रीलाई आग्रह गर्न यो समाचार सामग्री तयार पारिएको छ । प्रधानमन्त्रीको सानो साथ र तत्परताले दुबईको जेलमा २२ वर्षदेखि मृत्युदण्डको आदेश सुनेर बसेका ती निर्दोषको जीवन बचाउन सक्नेछ । पात्र हुन् दार्चुला, धारीका अमरबहादुर बम । उनी निर्दोष छन् । जसको पुष्ट्याइँ तल म गर्दै जाने छु । त्यसभन्दा अगाडि भन्न चाहन्छु– संयुक्त अरब इमिरेट्स (यूएई) मा अदालतभन्दा माथि राजा हुन्छन् । उनलाई हाम्रा प्रधामन्त्रीले गएर निर्दोषिताका आधारसहित आग्रह गर्ने हो अमर सजिलै बाँच्ने छन् । प्रधानमन्त्रीले छेउको सिटमा राखेर ल्याउनै सम्भव छ । अमरको व्यथा, अमरकै शब्दमा म भारतको नयाँदिल्लीमा ड्राइभरको काम गर्थें । पसलबाट घर बनाउनेहरू कहाँ मार्बल लैजानु मेरो काम थियो । त्यही क्रममा एक धनाढ्यसँग भेट भयो । उनी मलाई राम्रो काम गर्छांै भन्दै स्याबासी दिने गर्थे । उनले एक दिन सोधे, ‘मार्बल पसलको गाडी चलाउँदा कति पाउँछौ ?’ ‘२ हजार भारु,’ मैले भनेँ । ‘बिचरा’, उनले दया देखाउँदै भने, ‘म तिमीलाई दुबई लैजान चाहन्छु । त्यहाँ महिनाको २० हजार भारु दिन्छु । जाने खर्च पनि १ रुपैयाँ लाग्दैन । जान्छौं ?’ मेरा लागि त्यो खुसीको कुरा र गतिलो मौका थियो । मन गदगद भयो । दायाँबायाँ नसोची ‘हुन्छ’ भनिदिएँ । उनले तुरुन्त घर गई पासपोर्ट बनाएर आउन भने । म केही दिनमै पासपोर्ट बनाएर दिल्ली पुगें । मलाई लिएर उनी २००२ डिसेम्बर अन्तिम साता दुबई उडे । उनले मलाई दुबईमा गाडी नै चलाउनुपर्ने बताएका थिए । त्यसका लागि दिल्लीमै अन्तर्राष्ट्रिय लाइसेन्ससमेत बनाइदिएका थिए । दुबईमा ती व्यक्तिले त्यहीं बस्दै आएका भारतीय नागरिक मनोज मुदाना र करन सिंह राजपुतसँग राखिदिए र फर्के । त्यहाँ दुइटा कोठा थिए । उनीहरूले एउटा मलाई दिए । एउटामा दुई जना बस्थे । उनीहरूलाई चाहे ठाउँमा लैजानु मेरो ड्युटी थियो । उनीहरू दैनिकजसो इन्डियन क्लब जान्थे । गाडी रोकाएर मलाई बाहिरै कुराउँथे । र, भित्र गएर मन लागेको समयमा फर्कन्थे । उनीहरू नआउन्जेल म गाडीमै बसिरहन्थेँ । २००३ जनवरी १९ को दिन थियो । उनीहरू सधैंझैं क्लबभित्र छिरे । म गाडीमै कुरिरहेको थिएँ । करिब आधा घन्टामा उनीहरू हडबडिँदै आए । गाडीमा फटाफट पसे र मलाई छिटो दौडाउन इसारा गरे । हामी डेरा पुग्यौं । उनीहरू हतारिएर सामान प्याक गर्न थाले । र, मलाई सोधे, ‘तिम्रो यहाँ कोही आफन्त वा साथीभाइ छ ?’ ‘अहँ’, उनीहरूको पारा देखेर आश्चर्य मान्दै मैले उत्तर दिएँ, ‘कोही छैन, किन र ?’ ‘हामी त फर्कन लागेको,‘ उनीहरूले भने, ‘तिमी कतै गएर बस, बरु हामी खर्चपर्च दिन्छौं ।’ ‘यो बिरानो ठाउँमा म कहाँ जानु ?’ मैले भनेँ, ‘तपाईंहरू जहाँ जानुहुन्छ, मलाई पनि सँगै लैजानुस् ।’ उनीहरू हडबडाएका, हतारिएका र अत्तालिएका थिए । यिनीहरूले पक्कै कुनै बदमासी गरेको हुनुपर्छ भन्ने मलाई चिसो पस्यो । तर, पनि सोध्न सकिनँ । उनीहरूले नै फेरि भने, ‘कोही छ कि सोच न ।’ ‘छैन’, मैले भनेँ, ‘प्लिज मलाई छाडेर नजानुस् ।’ उनीहरू सामान प्याक गरिरहेका थिए । तयारीमा अलि समय लाग्यो । उनीहरूबीच फेरि सल्लाह गरे, ‘आज नजाऔं, भोलि जाउँला ।’ उनीहरूले पछि मलाई भने, ‘हामीले मान्छे मार्‍यौं । यहाँको प्रहरीले खोजिरहेको होला । अब सुटुक्क भाग्नु छ । तिमी भरसक हामीसँग नजाऊ । कोही आफन्त खोज र त्यता बस ।’ म धेरै रोएँ । कुन दशाले आएछु भनेर मनमन आफैंलाई धिक्कारेँ । तर, पनि मेरो कुनै उपाय थिएन । उनीहरूलाई छाडेपछि कहाँ जाने, कसकहाँ बस्ने, कसरी फर्कने केही थाहा थिएन । त्यही भएर उनीहरूको साथ नछाड्न बाध्य भएँ । उनीहरूको आफ्नै क्रुज (सानो पानी जहाज) रहेछ । जनवरी २५ तारिख सारजहाबाट त्यसमै चढेर अर्को देशतिर भाग्ने तय गरे । त्यसकै स्टाफका रूपमा मेरो पास बनाइदिए । क्रुज चढ्न त्यहाँ पुग्नासाथ प्रहरीले हामी सबैलाई पक्राउ गर्‍यो । हिरासतमा मलाई सोधे, ‘हत्याको योजना तँलाई थाहा थियो कि थिएन ?’ ‘थिएन,’ मैले भनेँ । ‘ढाँट्छस् ?’ भन्दै निर्मम यातना दिए । त्यहाँ अरूले भन्थे, ‘यहाँका प्रहरीले बकाउन यातना दिँदा कति मरेकै छन् ।’ म पनि मर्छुजस्तै लाग्यो । अरूले सल्लाह दिए, ‘स्वीकारी दे ! अहिल्यै मर्नुभन्दा बरु केही दिन त बाँच्छस् ।’ केही दिन असह्य यातना भोगेपछि बाध्य भएर ‘थाहा थियो’ भनेँ । त्यसपछि मलाई कुनै नराम्रो व्यवहार भएन । अदालतमा यातनाको कुरा भन्न मन थियो । भाषाको समस्याले बताउन सकिनँ । लाँदै, हाजिर गराउँदै, फर्काउँदै गर्थे । त्यत्तिकैमा मृत्युदण्डको फैसला पो आयो । उनीहरूलाई हत्यारा र मलाई मतियार भन्ने ठहर भएछ । सजाय भने मृत्युदण्ड । प्रधानमन्त्री भट्टराईले भने थे, ‘म जान्छु’ दुबईको केन्द्रीय सुधारगृहमा अमरबहादुर बमलाई भेटेर फर्किएपछि २०६९ असोज १३ गते मैले कान्तिपुरमा मुख्य समाचार लेखेको थिएँ, ‘निर्दोष नेपाली बचाउनुस्, प्रधानमन्त्रीज्यू !’ माथिको वृत्तान्त अमरले मलाई त्यही सुधारगृहको भेटमा बताएका थिए । जुन मैले उक्त समाचारमा उल्लेख गरेको थिएँ । (त्यसैलाई यहाँ दोहोर्‍याएको छु ।) समाचार प्रकाशनपछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न गएँ । उनले परराष्ट्र मन्त्रालयमा तत्काल फोन गरेर दुबईका लागि आफ्नो भ्रमणको चाँजो मिलाउन निर्देशन दिए । अमरको फोन आइरहन्थ्यो । मैले त्यो खुसीको कुरा सुनाइदिएँ । विस्तारै डा. भट्टराई अन्य राजनीतिक प्राथमिकताको घेराउमा परे वा त्यसलाई बिर्सिए । दुबई गएनन् । २०६९ चैत १ गते उनको सरकार ढल्यो । खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष बने । उनलाई पनि भेट्न म पुगेँ । उनले भने, ‘मेरो म्यान्डेट चुनावबाहेक केही छैन । जान सम्भव छैन ।’ यो विषय छुट्यो । यसपालि तीन महिनापहिला दुबई जाँदा फेरि अमरलाई भेट्न पुगेँ, पहिला भेटाइदिने कृष्णबहादुर ढकाललाई साथमा लिएर । नियम बदलिएको रहेछ । धेरै प्रयासमा पनि भेट्न सम्भव भएन । तर, जेलका अधिकारीले भने, ‘म अमरलाई तपाईंसँग कुरा गराउने छु ।’ नेपाल फर्किएपछि अमरको फोन आयो । अर्को दिन मैले नै फेरि उनलाई फोन गरेँ । र, लामो अन्तर्वार्ता गरेँ । हत्यारा बाँच्लान्, ‘मतियार’ मारिएलान् ? भारतसँगको सुपुर्दगी सन्धिका कारण यो विषय लम्बिएको छ । उच्च स्रोतका अनुसार भारत स्वयं उनीहरूलाई लिइहाल्न चाहँदैन । ठूला–ठूला अपराधमा जोडिएका कारण उनीहरूलाई उतै कारबाही होस् भन्ने भारतको चाहना छ । तर, सुपुर्दगी सन्धिले त्यसो भन्दैन । त्यही कारण भारतले यसमा तत्परता देखाएको छैन । प्रक्रिया लम्बिएको छ । जसका कारण मनोज र करनको ज्यान जोगिएको छ । एउटै प्रकरणमा हत्यारालाई मृत्युदण्ड नदिएर मतियारलाई मात्र दिन मिलेन । त्यही कारण अमर भाग्यवश अहिलेसम्म बाँचेका छन् । ‘भारतले सुपुर्दगी प्रक्रिया निकै अघि बढाइसकेको सुनेका छौं । अमरको हामीले उद्दार नगरी मनोज र करन लगियो भने उनलाई दुबई सरकारले मृत्युदण्ड दिनेछ’, अमर छुटाउने अभियानमा दिलोज्यानले लाग्दै आएका नेपाली समाज, यूएईका पूर्वअध्यक्ष कृष्णबहादुर ढकाल भन्छन्, ‘त्यसैले प्रधानमन्त्रीज्यूले सक्रिय सदासयता राख्नैपर्ने भएको छ । एउटा निर्दोष नेपालीलाई मारिनबाट जोगाउन पक्कै उहाँ संवेदनशील हुनु हुनेछ ।’ अमरको आग्रह छ, ‘भारतीयलाई सुपुर्दगी गर्नुअघि नै मलाई बचाउन सरकारले पहल गरिदियोस् । प्रधानमन्त्रीज्यू, त्यो गुन कहिल्यै भुल्ने छैन ।’ null अमर निर्दोष छन् दुबई अदालतका न्यायाधीशलाई सम्बोधन गरेर करन र मनोज दुवैले अलग–अलग पत्र लेखे । त्यसमा अमर निर्दोष रहेको आफूहरू (दुई जना) का कुनै पनि योजनाबारे पूर्वजानकार नरहेको प्रस्ट्याएका छन् । करनले लेखेको पत्रको नेपाली अनुवाद, ‘म, करन सिंह राजपुत, भारतीय मूलको व्यक्ति, यस पत्रमार्फत प्रमाणित गर्न चाहन्छु कि हामीले नेपाली नागरिक अमरबहादुर बमलाई दुबईमा केवल सवारी चलाउन लगाएका थियौं । हामीले योजना बनाएर गरेका कुनै पनि कार्यहरूबारे उनलाई कुनै जानकारी थिएन । प्रहरीले पक्राउ गर्नुअघिसम्म उनलाई म र मेरो साथी भारतीय नागरिक मनोज मुदाना कुक्यमले हत्या गरेकोबारे केही थाहा थिएन । हामीले यो बयान दुबई अदालत र दुबईको अपिल अदालतमा पहिल्यै दिइसकेका छौं । म कानुनअनुसार कुनै पनि अदालतमा यहीअनुसार बयान दिन तयार छु ।’ मनोजको पत्रको भाषा पनि यही छ । यातना दिएर बक्न बाध्य बनाइयो अमरले पनि आफू निर्दोष रहेको भन्दै दुबई अदालतका न्यायाधीशसामु पत्र पठाएका छन् । उनले सीआईडीले यातना दिएर अपराध स्वीकार्न बाध्य पारेको खुलाएका छन् । अमरले अदालतलाई लेखेको पत्रको अनुवाद ‘म, अमरबहादुर बम, तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु कि मनोज मुदाना र करन सिंहले योजना बनाएको हत्याबारे मलाई कुनै जानकारी थिएन । यो कुरा मलाई मात्र त्यसपछि थाहा भयो जब सीआईडीले मलाई पक्राउ गर्‍यो । मैले सीआईडीलाई यो कुरा बताएको थिएँ तर उनीहरूले मलाई यातना दिए र अपराध स्वीकार गर्न बाध्य बनाए । म नेपालीबाहेक अरू कुनै भाषा बोल्न सक्दिनँ, तर पनि उनीहरूले मलाई कुनै अनुवादक उपलब्ध गराएनन् । पछि उनीहरूले मलाई वाचा गरे कि यदि मैले सीआईडीले भनेको कुरा स्वीकार गरेँ भने मलाई रिहा गरिनेछ, यद्यपि म घटनास्थलमा उपस्थिति पनि थिइनँ ।म विनम्रतापूर्वक तपाईंको दरबार समक्ष अनुरोध गर्दछु कि मेरो मुद्दालाई विचार गरियोस् र मलाई यी आरोपहरूबाट निर्दोष ठहर गरियोस् । ‘प्रधानमन्त्रीज्यू, अन्तिम अपिल : मेरो जीवनको जिम्मेवारी लिनुहोस्’ अमरबहादुर बम मृत्युदण्डको सजाय तोकिएर २२ वर्षदेखि दुबईको जेलमा रहेका नेपाली तपाईं अहिले जेलमा किन हुनुहुन्छ ? म निर्दोष हुँ । तर, हत्यामा संलग्नहरूका चालक भएको नाताले मलाई पनि मुछियो । भाषाको अज्ञान, कानुनी सहायता नपाइनु र डरका कारण म फसेँ । म गलत समयमा गलत ठाउँमा थिएँ । के तपाईंले त्यो अपराध स्वीकार गर्नुभएको थियो ? स्वीकार गरेको थिएँ, तर त्यो मेरो बाध्यता थियो । थुनुवा कोठामा धेरै यातना दिए । थर्काएर, झुक्याएर, कागजमा हस्ताक्षर गराए । मलाई थाहा थिएन त्यो स्वीकारोक्ति यस्तो खतरनाक हुनेछ भनेर । त्यो ‘यातना’ कस्तो थियो ? असह्य कुटपिट भयो । कानुनी सल्लाहको हक दिएनन् । अरबीमा लेखिएको कुरा बुझ्दिनथेँ । मलाई ‘मानिस् भने छाडिन्छस्’ भनेर ढाँटिएको थियो । अपराधमा संलग्न दुई जनाले ‘अमर निर्दोष छन्’ भनेर अदालतलाई लेखेका रहेछन् । त्यो प्रयोग भएन ? उनीहरूले अमरलाई केही थाहा थिएन भनेर पत्र लेखे । तर, अदालतले त्यसमा चासो दिएन । ममाथि पहिल्यै अभियोग टाँसिइसकेको थियो । अनि, मतियार भनिदिए र बराबर सजाय अर्थात् मृत्युदण्ड तोकिदिए । तपाईंसँग अहिले के आशा बाँकी छ ? सरकारबाट । विशेष गरेर प्रधानमन्त्रीबाट । म प्रधानमन्त्रीलाई अनुरोध गर्छु, यहाँका राजासँग सीधा कुरा गरेर मलाई आममाफी दिलाइदिनुहोस् । म बाँच्छु भन्ने आशा त्यही छ । जुन प्रधानमन्त्रीले चाहेको खण्डमा सम्भव छ । धेरै देशकाले यसरी नै आफ्ना फसेका नागरिकलाई उकासेर लैजान्छन् । तपाईंको प्रधानमन्त्रीलाई के–कस्तो आग्रह हो ? म नेपाली नागरिक हुँ । केही गल्ती नगर्दा नगर्दै म यहाँ फाँसीको प्रतीक्षामा छु । प्रधानमन्त्रीज्यू, तपाईंको एउटा यात्रा र अनुरोधले मेरो जीवन फर्कन सक्छ । तपाईं आउनुस्, आग्रह गर्नुहोस् । म बाँच्न चाहन्छु । तपाईंमा बचाउने क्षमता छ । null सरकारसँग तपाईंको परिवारले के प्रयास गरेका छन् ? वर्षौंदेखि धेरै पटक ज्ञापनपत्र दिए । धेरै सरकार फेरिए । कसैले वास्ता गरेन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा मैले मानवीयता बढी पाएको छु । त्यसैले पनि आशावादी छु । त्यो सन्देश इमानदारपूर्वक पुर्‍याइदिनुहुनेछ भन्ने मैले ठूलो आशा गरेको छु । म त भन्छु, अब प्रधानमन्त्री आफैं आउनुपर्छ । यहाँ अन्य देशका नागरिकहरू पनि जेलमा छन्, तिनीहरूका सरकारहरू कसरी प्रतिक्रिया जनाउँछन् ? धेरै मुलुकका नेताहरू आफ्ना नागरिकका लागि सीधा भेट गर्न आउँछन् । कानुनी लडाइँ लड्छन् । भारतीय नागरिकहरूलाई त सुपुर्दगी गरेर पठाइँदै छ । नेपालीको त भाग्यमै भर पर्छ । अब त्यस्तो नहोस् । तपाईंको मनस्थितिबारे भन्न सक्नुहुन्छ ? डराउनुभएको छ ? डर त हुन्छ । मृत्यु कुर्दै बस्नु सजिलो छैन । तर, म बाँच्न चाहन्छु । मलाई थाहा छ, देशले चाहे म बाँच्न सक्छु । म दोषी होइन । नत्र किन हत्या गर्नेहरूले नै लेखेर दिए, ‘अमर निर्दोष छन् ?’ जेलमा बिताएका वर्षहरूको अनुभूति कस्तो छ ? जीवनजस्तै लामो लाग्छ । समय सुस्त भएर बग्छ । दिन र रात एउटैजस्ता लाग्छन् । कहिलेकाहीँ लाग्छ, सारा संसारले मलाई बिर्सिसकेको छ । तपाईंको मुद्दा अदालतमा जानुअघि कानुनी सहायता पाउनुभयो ? एकपटक पनि वकिल देखिनँ । सबै अरबीमा भयो । मैले बुझ्दिनथेँ । अनुवादक पनि निष्पक्ष थिएनन् भन्ने लाग्छ । कसैले मेरो तर्फबाट लडेन । तपाईंका बारेमा नेपालमा चर्चा हुँदा र त्यस्तो सुन्दा कस्तो लाग्छ ? आशा पलाउँछ । लाग्छ, देशले चिनेको छ । तर, त्यो आशा कहिलेकाहीँ निराशामा बदलिन्छ, जब सरकारहरू नै चुपचाप देखिन्छन् । तपाईंको मनमा न्यायप्रणालीप्रति विश्वास बाँकी छ ? दुबईको होइन, तर नेपाली जनताको न्यायमाथि आशा छ । अदालतभन्दा ठूलो जनता हो । नेपाली जनताको आवाज यदि चर्कियो भने म बाँच्छु भन्ने लाग्छ । दुबईमा त अब राजालाई हाम्रा प्रधानमन्त्रीले आग्रह गरेर गराउने आममाफी मात्र हो । तर, यो सहज छ । जसले तपाईंलाई छुटाउन पहल गरिरहेका छन्, तिनलाई के भन्नुहुन्छ ? तपाईँहरूकै आशामा बाँचिरहेको छु । तपाईंहरू बोलिरहनुहोस्, लेखिरहनुहोस् । मेरो आवाज तपाईंहरूको आवाज बन्न सके, म बाँच्छु । धन्यवाद । दुबईको जेलमा तपाईंले देखेको सबैभन्दा पीडादायक क्षण के थियो ? एक जना नेपाली दाजुलाई त्यहाँ उपचार नपाएर मरिरहेको देखेँ । उनले अन्तिम सासमा ‘आमा...’ भनेको पनि सुनेँ । त्यो आवाज अझै कानमा गुन्जिरहन्छ । तपाईं आफूलाई निर्दोष भन्ने कसरी पुष्टि गर्नुहुन्छ ? प्रमाण, प्रक्रियाले होइन, अनुमान र भाषाको नबुझाइले मलाई दोषी बनाइयो । न्याय भनेको शंका होइन, सत्य हो । म सत्यसँग छु । तपाईंलाई नेपाल सरकारले कुनै किसिमको कानुनी सहायता दिएको थियो ? अहँ । सुरुका वर्षहरू त दूतावासका कर्मचारीसमेत देखिएनन् । तपाईंको मुद्दामा अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको भूमिका कस्तो रह्यो ? केहीले आवाज उठाए, तर त्यो मिडियामा सीमित रह्यो । प्रभावशाली दबाब परेको अनुभूति मलाई भएन । अन्तर्राष्ट्रिय आवाज कहिल्यै हाम्रा लागि पर्याप्त हुँदैन रहेछ । तपाईंको मनमा अहिले सबैभन्दा ठूलो डर के छ ? मौनता । सारा तन्त्र मौन रह्यो भने मलाई भुलाइन्छ । त्यही मौनतामा म हराउनेछु । त्यो मृत्युभन्दा पनि डरलाग्दो छ । देशमा भएको परिवर्तन (गणतन्त्र, संविधान, संघीयता आदि) बारे खबर पाउनुभएको छ ? जानकार हुनुहुन्छ ? थोरै थाहा पाउँछु । अरू थुनुवाबाट वा कागजपत्रबाट । तर, ती परिवर्तनले मेरो जीवनमा के असर पार्छन् भन्ने महसुस गरेको छैन । तपाईं छुट्नुभयो भने पहिलो काम के गर्नुहुन्छ ? म सास फेर्ने खुला आकाश खोज्नेछु । अनि आमा–बुवालाई अँगालो हालेर भन्न चाहन्छु, ‘छोरो जिउँदै फर्किएको छ । यो देश रहेछ । सरकार रहेछ । अनि, प्रधानमन्त्रीमा मानवीयता रहेछ ।’ तपाईंका सपनामा कस्ता दृश्यहरू आउँछन् ? कहिले काँक्रो काटिरहनुभएको आमा देख्छु । कहिले खोला किनारतिर दौडिरहेको बाल्यकाल देख्छु । अनि एक्कासि जेलको पर्खालले त्यो सपना भत्काइदिन्छ । तपाईंले चाहनुभएको अन्तिम न्याय के हो ? निर्दोष छु । छुट्न पाउँ । राज्यको अनुभूति गर्न पाउँ । मेरो देश भनेर गर्वले छाती फुलाउन पाउँ । तपाईंको मुद्दा कमजोर हुनुमा मुख्य त्रुटि के थियो ? पहिलो क्षणदेखि मैले गरेको कुरा बुझाउने व्यक्ति थिएन । अनुवाद नहुँदा गलत स्वीकारोक्ति भयो । त्यसपछि प्रक्रिया नै गलत दिशामा गयो । सरकारले तपाईंलाई हेर्नै पर्ने किन ? संविधानले समेत विदेशमा आपत परेको नागरिकको संरक्षण सरकारको कर्तव्य भनेको छ । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिअनुसार कानुनी सहायता र दूतावासीय सहयोग आवश्यक थियो । जुन मैले अझै पाएको छैन । प्रधानमन्त्रीले किन तपाईंको कुरा सुन्नुपर्छ ? किनकि, म एक नेपाली नागरिक हुँ । म आवाजविहीन ठाउँमा छु । प्रधानमन्त्री देशका सबै नागरिकका अभिभावक हुनुहुन्छ । छुट्नुभयो भने तपाईंबाट समाजलाई के योगदान हुन सक्छ ? म आफैंजस्तै पीडितहरूको पक्षमा लड्न चाहन्छु । समाजलाई जागरूक बनाउने काम गर्छु । थुनिएको सत्य बोल्ने मान्छे कहिल्यै खलनायक हुँदैन । तपाईंप्रति नेपाल सरकारको चासो कस्तो पाउनुभयो ? झ्यालबाहिर हेरियोस् त, कहिल्यै दूतावासको सहयोग देखिनँ । म नागरिक हुँ भन्ने बिर्सिएजस्तो लाग्छ । कहिलेकाहीं लाग्छ, मैले देश बदलेँ कि देशले मलाई ? के तपाईंको मुद्दा ‘यन्त्रवत्’ न्याय प्रणालीको सिकार भएको हो ? हो । यहाँका प्रक्रिया र भाषिक बाधाले मलाई ‘मानव’ होइन ‘फाइल नम्बर’ बनायो । मैले आफैलाई भन्न पाइनँ कि ‘म निर्दोष हुँ ।’ तपाईंले बाँच्न पाउनुको मूल्य के सम्झनुहुन्छ ? मेरो जीवन कुनै ठूलो कुरा होइन । तर, म एक आम मान्छे हुँ । एउटा मान्छेले न्याय माग्न पाउने अधिकारलाई बाँच्न पाउनुको मूल्य ठान्नुपर्छ । उसो भए, प्रधानमन्त्रीलाई तपाईंको प्रत्यक्ष आग्रह के हो ? म कुनै माग होइन, जीवनको याचना गर्दैछु । तपाईं मेरो देशको अभिभावक हो । कृपया मेरो जीवनको जिम्मेवारी लिनुहोस्, यो मेरो अन्तिम अपिल हो । किन प्रधानमन्त्री आफैंले यसमा संलग्न हुनुपर्ने हो ? किनभने यो एउटा नागरिकको जीवनको प्रश्न हो । यसको समाधान अरूबाट सम्भव छैन । केवल प्रधामन्त्रीबाट छ । कसरी ? उहाँले दुबईमा आएर यहाँका राजालाई भाँती पुर्‍याएर भन्ने हो भने आममाफी सम्भव छ । यहाँ अदालतभन्दा माथि राजा हुन्छन् । कुनै पनि प्रधानमन्त्रीले अभिभावक सरह संवेदनशीलता देखाएका छैनन् ? अहिलेसम्म देखिनँ । तर, मलाई अझै विश्वास छ, वर्तमान प्रधानमन्त्रीबाट त्यो सम्भव छ । कृपया अब ढिला नगर्नुहोस् । मलाई बचाउनुभएको खण्डमा तपाईँले एउटा जीवन मात्र होइन, नेपालको नैतिक गरिमा पनि बचाउनुहुनेछ । प्रधानमन्त्रीको तत्परतामा तपाईं छुट्नुभयो भने के गर्न चाहनुहुन्छ ? नेपाल फर्केर नयाँ जीवन सुरु गर्न चाहन्छु । परिवारसँग बस्न चाहन्छु । कानुनी शिक्षा लिनेछु, र अन्य निर्दोषहरूलाई न्याय दिलाउन लागि पर्ने छु । (केहीअघि दुबईबाट गरिएको रिपोर्टिङमा समेत आधारित) -अन्नपूर्ण पोष्टबाट साभार

प्रतिक्रिया