Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१४

एमाले डिलाशैनीमा बिद्रोह, गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बन्दै जोशी

Wide Nepal News
शुक्रबार, चैत २५, २०७८
बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेदवारी दिने भएका छन् । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा  एमाले डिलासैनीले गाउँपालिका अध्यक्षमा जोशीको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । जोशी नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत हुन् । चैत २७ गते ((आइतबार) डिलासैनी गाउँपालिकास्थित धामीगाउँमा एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने जोशीले बताए । उनले पार्टीका सबै पदबाट राजीनामा गरेर उम्मेदवारी दिने उनले तयारी गरेका हुन् । जोशी समूहले गाउँपालिका अध्यक्षसहित अन्य पदमा स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेसंगै डिलाशैनी एमालेभित्र बिद्रोह सुरु भएको छ । "जनताले गुणस्तरीय शिक्षा, स्वास्थ्य, स्थानीयस्तरमा रोजगारी सिर्जना तथा सडक जस्ता आधारभूत पूर्वाधारको पुर्ति गर्ने नेतृत्व खोजिरहेका छन् । तर डिलासैनी सरकार बिकासका नाममा भ्रष्टाचार, बेरुजु, आर्थिक अनियमितता जस्ता कुरामा लिप्त छ । अब हामी डिलासैनीको यस्तो परिपाटी बदल्न चाहन्छौ ।" जोशीले थपे "आम नेता कार्यकर्ताहरु मेरो पक्षमा रहेका बेला समेत माइन्युट गायब गरेर नाम सिफारिश नगरेपछि यो निर्णयमा पुगेको हुँ । मेरो उम्मेदवारी घोषणा हुन्छ ।" यस्तै उनले आफ्नो टीमका वडा अध्यक्षहरुको उम्मेदवारी चैत २९ मा घोषणा गर्ने र त्यसपछि सदस्यहरुको पनि उम्मेदवारी घोषणा गर्ने तयारी भएको बताए । एमाले डिलाशैनी गाउँकमिटिले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष उकेन्द्र बोहरा, गाउँपालिका प्रवक्ता अक्कल राना र प्रेमराज भट्टको नाम सिफारिश गरेको छ । गाउँपालिका कमिटिको बैठक बसेका बेला माइन्युट गायब गरेर आफ्नो नाम षडयन्त्रपूर्वक हटाएको जोशीले आरोप छ । पार्टीका आम कार्यकर्ता र जनभावना विपरीत एमाले डिलाशैनीले निषेधको राजनीति गरेकाले आफूहरुले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिनुपरेको  जोशी पक्षको धारणा छ ।

प्रतिक्रिया