Wide Nepal News बिहिबार १८, बैशाख २०८२ ०८:१९

शिविरले दियो आँखाको ज्योति

सम्बाददाता सम्बाददाता
मङ्गलबार, बैशाख ०९, २०८२
शिविरले दियो आँखाको ज्योति

गाउँमै स्वास्थ्य आँखा शिविर संचालन भएपछि पुचौँडीका केही नागरिकलाई आँखाको ज्योति मिलेको छ ।

पुचौँडी नगरपालिकामा संचालित आँखा शिविर मार्फत यहाँका ९१ जनाको आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । वैशाख ५ देखि ७ गते सम्म चलेको शिविरले उनिहरुमा निकै उत्साह थपिएको छ ।

आँखाको शल्यक्रियापछि उनीहरुको आँखाको ज्योति फर्किएको पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

पुर्चौंडी नगरपालिका, बैतडी समाज कैलाली, च्यारिटी हेल्थ फाउण्डेसन नेपाल र धनगढी नेत्रालयको आयोजनामा सञ्चालन भएको बृहत स्वास्थ्य शिविरमा ७ सय १७ जनाको आँखाको चेकजाँच गरिएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

बृहत स्वास्थ्य शिविर अन्तर्गत सञ्चालन भएको आँखा शिविरमा बरिष्ठ नेत्र बिशेषज्ञ डा. विद्याप्रसाद पन्त नेतृत्वको टीमले सेवा दिएको थियो । दुर्गममा पुगेर शल्यक्रियामार्फत नागरिकहरुको आँखाको ज्योति फर्काउन सफल भएकोमा डा. पन्तले खुसी व्यक्त गरेका छन् । यस्तै शिविरमार्फत आँखाको उपचार भएपछि नागरिक पनि खुसी भएका जनस्वास्थ्य निरीक्षक अवस्थीले बताउनुभयो ।

शिविरमा ५सय ३५ जनालाई औषधी वितरण र २ सय १० जनालाई निशुल्क चस्मा वितरण गरिएको अध्यक्ष चन्दले बताउनुभयो। यस्तै बृहत स्वास्थ्य शिविरमा ५ सय ७३ जनाको दाँतको उपचार गरिएको छ भने ३ सय २८ महिलाको स्त्री रोग बिशेषज्ञले स्वास्थ्य परीक्षण गरेका छन् ।

यस्तै १ सय ६५ जना बालबालिकाहरुलाई शिविरमा सेवा दिइएको थियो भने ७८ जनाको फोक्सो जाँच गरिएको जनस्वास्थ्य निरीक्षक अवस्थीले बताउनुभयो।

यस्तै २ सय ६५ जनाको मुटुको चेकजाँच गरिएको थियो भने ५ सय ५९ जना हाडजोर्नी सम्बन्धी बिरामीहरुको उपचारमा गरिएको छ । शिविरमा २८ सय बढी नागरिकले सेवा लिएका छन् ।

बैतडी समाज कैलालीले हरेक बर्ष आफ्नो नियमित बार्षिक कार्यक्रम अन्तर्गत पुर्चौंडीमा स्वास्थ्य शिविर सञ्चालन गरेको समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताउनुभयो ।

बैतडी समाज कैलाली, धनगढी नेत्रालय, च्यारिटी हेल्थ फाउण्डेसन नेपाल लगायतका संघसंस्थाहरुको सहकार्यमा बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न पाउँदा नगरबासीहरुको उपचारमा पहुँच पुगेको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले बताउनुभयो ।

शिविरले आर्थिक अवस्था कमजोर भएका कारण उपचारको दायरमा ल्याउन नसकिएका नागरिकलाई सहयोग पुगेको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो ।

प्रतिक्रिया