०७९ सालमा निर्वाचित जनप्रतिनिधि आएपछि दार्चुलाको शैल्यशिखर नगरपालिकामा भौतिक पूर्वाधार विकासले गति लिएको छ । ०७४ सालमा निर्वाचित जनप्रतिनिधिले बनाउन नसकेका पूर्वाधार विकास निर्माणका काम अहिले धमाधम भइरहेको हो ।
भौतिक पूर्वाधार निर्माणमा भइरहेको परिवर्तनले स्थानीयको सेवा सुविधा र विकासमा सहजता हुने अपेक्षा स्थानीयको छ । ०७९ सालमा निर्वाचित भइसकेपछि नगर प्रमुख विजयसिह धामीले पूरानो भाडाको प्रशासनिक भवनमा सफथ लिनु भएन् ।
उनले आफु जस्तो भए पनि सरकारी भवनबाटै सपथ लिने भन्दै तत्कालीन गोकुलेश्वर गाविसको भवन प्रयोगमा ल्याएर सपथ ग्रहण गरे । सपथ ग्रहणलगत्तै उनले भने, ‘मेरै कार्यकालमा आफ्नै प्रशासनिक भवन निर्माण गर्छु ।’ जसअनुसार पहिलो प्राथमिकतामा राखेर अहिले प्रशासनिक भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । ०८० असारबाट निर्माण सुरु भएको भवन अन्तिम चरणमा पुगेको हो ।
साविकको गाविस भवन भएकै क्षेत्रमा अहिले अत्याधुनिक प्रशासनिक भवन निर्माण भएको छ । चाडै भवन निर्माण सम्पन्न गरेर प्रशासनिक भवन सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । बढिमा छ महिनाभित्र निर्माण कार्य पूरा हुन्छ ।
पालिका भवन नजिकै कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण भइसकेको छ । भवन निर्माणपछि अहिले कृषि पशु सम्बन्धी सम्पूर्ण काम व्यवस्थित बनेको छ । आफ्नो कार्यालय व्यवस्थापन भएन भने सेवा प्रवाह प्रभावकारी हुन सक्दैन् । सेवा दिने ठाउँ व्यवस्थित भयो भने सेवाग्राहीले पनि लाभ लिन सक्ने विष्ट बताउँछन् ।
९ ओटा वडा रहेका नगरपालिकाका चार ओटा वडाहरुका आफ्ना भवन छैनन् । भवन नहुँदा व्यक्तिगत घर भाडामा लिएर सेवा दिनुपर्दा सेवाग्राहीलाई समेत सास्ती खेप्नुपरेको थियो, वडा नम्बर ५ का वडा अध्यक्ष जनक डागाले भने, ‘अहिले आफ्नै वडा भवन निर्माण कार्य हुँदैछ । यसबाट जनप्रतिनिधि, कर्मचारीले सेवा प्रवाह गर्न पनि सहज हुन्छ ।’
अहिले शैल्यशिखर नगरपालिका वडा नम्बर ३, ५, ७ र ८ को वडा भवन निर्माण भइरहेको नगर प्रमुख विजयसिह धामीले बताए । पहिलेका सरकारको प्राथमिकतामा नपरेका वडा कार्यालयहरु अहिले धमाधम बनिरहेका छन् । असारभित्रै धेरै वडाका भवन निर्माण भइसक्छन् ।
यस्तै नगरपालिकाको समन्वयमा सत्यप्रकाश मावि देथलामा विद्यालय भवन निर्माण भइरहेको छ । शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ मावि झरकाँडाको भवन चार करोड लागतमा निर्माण सम्पन्न भएको छ ।
०७९÷८० मा भागिरथी आधारभूत विद्यालय सेतकला, पशुपति भवन मावि ग्वानी र लटिनाथ आधारभूत विद्यालय बारिलको विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
स्थानीय कमलराज विष्ट विगतको सरकारले पाँच वर्षमा बनाउन नसकेको प्रशासनिक भवन अहिलेको सरकारले तीन वर्षमै निर्माण सक्दैछ । जनतालाई आधारभूत सेवा दिने कामको लागि प्रमुख प्राथमिकता प्रशासकीय भवन हो । भवन निर्माणपछि नागरिकको लागि थप सेवा सुविधा लिन सहज हुन्छ, उनले भने ।
‘जनप्रतिनिधिले चासो लिएपछि भवन लगायतका पूर्वाधार संरचना निर्माण हुने रहेछ भन्ने स्पष्ट भयो,’ शैल्यशिखर नगरपालिका–८ का गंगादत्त जोशीले भने, ‘सरकारले जनअपेक्षाअनुसार विकास निर्माणका काम गर्दै आएको छ ।’ अहिले सीमित स्रोत साधन हुँदा पनि भौतिक पूर्वाधारका क्षेत्रमा राम्रो काम भएको उहाँको भनाई छ ।
शैल्यशिखरका अधिकांश वडाका वस्ती सडक सञ्जालमा जोडिदैछन् । सडकहरु स्तरोन्नतिपछि स्थानीयलाई राहत पुग्छ, शैल्यशिखर नगरपालिका–४ का महादेव ठगुन्नाले भने, ‘खानेपानी योजना होस् या सडक विकट क्षेत्रसम्म जोडिदैछन् ।’ दुर्गमका नागरिकको लागि सडक नभई नहुने थियो, विस्तारै वडा छुने गरि दुईतर्फि सडक निर्माण भइरहेको छ । काडापारी रानिशिखरजस्ता बस्तीका नागरिकले गाडी चढ्ने सपना पूरा हुने विश्वास छ ।
आधा दर्जन सडक निर्माण हुँदै
शैल्यशिखर नगरपालिकाले ०७९÷०८० बाट आधादर्जन स्थानीय सडक निर्माण गरिरहेको छ । महाकाली राजमार्गले छोइसकेको शैल्यशिखर नगरपालिकाका वडा कार्यालय जोड्ने गरी स्थानीय सडक निर्माण भइरहेको हो ।
नगरपालिकाले संघ तथा प्रदेश सरकारसँगको साझेदारीमा सडक पूर्वाधारमा लगानी गरिरहेको नगर प्रमुख विजयसिह धामीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ७ को खोल्सी कुणी सडकको ट्रयाक खुलेको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर १ को बलाँच–भुइकाडा–सैनवन–थाला सडक खण्डमा गत वर्ष ३ किलोमिटर ट्रयाक खुलेको छ । चालू आर्थिक वर्षमा थप ट्रयाक खुलाउने काम भइरहेको इन्जिनियर योगेशसिह धामीले जानकारी दिए । यस्तै वडा नम्बर ५ बगौरा हुँदै रानिशिखर वडा कार्यालय जोड्ने गरी ३ किलोमिटर सडक निर्माण गत वर्ष भएको छ । सो सडक चालू आर्थिक वर्षमा स्तरोन्नतीको काम गरिने धामीले बताए ।
वडा नम्बर ६ कै बजानी–ग्वानी सडक गत वर्ष १.५ किलोमिटर ट्रयाक खुलाइएकोमा चालू आर्थिक वर्षमा थप सडक खन्ने काम भइरहेको छ । यस्तै कोटाखोल–अम्तोली पपडथला सडमा ०७९÷८० मा २ किलोमिटर ट्रयाक खुलाइएको छ । चालू आर्थिक वर्षमा बगौरा–बस्खेत सडक निर्माण गरिने इन्जिनियर धामीको भनाई छ ।
दुई चौमासिकमा भौतिक पूर्वाधारतर्फ ६५ प्रतिशत प्रगति
शैल्यशिखर नगरपालिकाले चालू आर्थिक वर्षको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । नगरपालिकाले असारसम्म सतप्रतिशत प्रगति हासिल गर्ने योजनाअनुरुप काम गरिरहेको जनाएको छ ।
नगरपालिकाले संघीय सर्शततर्फ ४ योजना कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । यस्तै प्रदेश सर्शततर्फ २५ योजना कार्यान्वयनमा रहेकोमा १० योजना निर्माण सम्पन्न भएको छ । नगरपालिका अन्तर्गत ६४ ओटा योजना कार्यान्वयन भइरहेकामा १८ योजना निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
नगरपालिकाका ९ ओटै वडा कार्यालय अन्तर्गत २८७ योजना कार्यान्वयनमा रहेकोमा ६० प्रतिशत प्रगति भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कार्यान्वयनमा रहेकामध्ये महिला लक्षित १२ योजनामा १६ लाख ५० हजार रुपैयाँ, बालबालिका लक्षित १ योजनामा ३० हजार, अपांगता लक्षित २ वटा योजनामा १ लाख ३० हजार तथा दलित लक्षित १६ योजनामा १४ लाख ८० हजार तथा ज्येष्ठ नागरिक लक्षित १ कार्यक्रममा ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यसैगरी नगरपालिकाले सामाजिक क्षेत्रमा १३ योजना कार्यान्वयन गरिरहेको छ । जसमा कुल बजेट २ करोड ५९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकास क्षेत्रमा १३ योजनामा २ करोड ५९ लाख ९७ हजार, तथा पूर्वाधार विकास योजना ९६ ओटा रहेकोमा कुल १ करोड ७९ लाख ५५ हजार बजेट विनियोजन भएको छ । नगरपालिकाले वातावरण तथा विपद व्यवस्थापनका ३ योजनामा २ लाख ५० हजार तथा संस्थागत विकास सेवा प्रवाह र सुशासन क्षेत्रमा २२ योजना रहेकोमा कुल ६१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
नगरपालिकाले चालूतर्फबाट ४५ करोड १६ लाख २० हजार तथा पूजीगततर्फ १७ करोड ५९ लाख ८४ हजार गरी कुल ६२ करोड ७६ लाख ४ हजार रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ ।
प्रतिक्रिया