Wide Nepal News बिहिबार १८, बैशाख २०८२ ०७:०५

दार्चुलामा नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै भारत, स्थानीय प्रशासन र जनप्रतिनिधि मौन

सम्बाददाता सम्बाददाता
आइतबार, बैशाख ०७, २०८२
दार्चुलामा नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै भारत, स्थानीय प्रशासन र जनप्रतिनिधि मौन

दार्चुलामा नेपाली भूमि मिचेर भारतले तटबन्ध बनाउदै छ। जिल्ला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको हो।

नेपाली भूमिमा दैनिक भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। २०७० सालको बाढीपछि महाकाली नदीले बहाउ परिवर्तन गरेर पारी पुगेको नेपाली भूमिमा कब्जा जमाउँदै भारतले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयले बताएका छन्।

२०७० भन्दा पहिले महाकाली नदी वारी रहेको र कानुनी रूपमा अहिले पनि नेपालकै नाम नक्सामा रहेको गल्फैस्थित बसपार्क महाकाली पारीको भूमिमा भारतले बाँध बाँधिरहेको हो।

नेपालको झन्डै ५० रोपनी भूमि नदी पारी पुगेकोमा सो भूमिमा भारतले स्थानीय नागरिक र प्रशासनको अनुरोधलाई अटेर गरेर तटबन्ध बनाइरहेको छ। विगतमा स्थानीयले अवरोध गर्दा रोकिएको काम अहिले फेरि सुरु भएको हो।

नापी विभागको टोलीले विगतमा नापजाँच गर्दा सो भूमि नेपालकै रहेको पाइए पनि नापीको रिपोर्ट नै सार्वजनिक नगरिएको स्थानीयले बताएका छन्। नापी विभागको अभिलेख सार्वजनिक गरेर नेपाली भूमिमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्काल रोकिनुपर्ने स्थानीयको माग छ।

भारतले नेपालको भूमि छोडेर मात्रै बाँध बाँध्नुपर्ने नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले बताए। सार्वभौमसत्ता सम्पन्न नेपालमा भारतले यसरी सीमा मिचेर बाँध बाँधिरहेकोमा आपत्ति जनाउँदै उनले तत्काल काम रोक्न सरकारसँग आग्रह गरेका छन्। गृह मन्त्रालयलाई आवश्यक रिपोर्टिङ गरिएको र स्थानीय स्तरमा भारतीय प्रशासनसँग काम रोक्न लिखित र मौखिक रूपमा अनुरोध गरिए पनि सुनुवाइ नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।

भारतलाई नेपाली प्रशासनमार्फत गरिएको अनुरोधमा बुझ्ने काम भइरहेको भन्दै अल्झाइको पाइएको छ। काम रोक्नुको सट्टा मेसिन र जनशक्ति बढाएर काम भइरहेको छ। सरकारले कूटनीतिक रूपमा फेरि विवाद नआउने गरी यो विषय समाधान गर्नुपर्ने पौडेलले बताएका छन्।

नेपालतर्फ नदी तटीय क्षेत्रमा तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम विगतदेखि गर्दै आएको थियो।

केही महिना पहिले भारतीय डोजर महाकाली तरेर खलङ्गामै आएपछि विवाद चर्किएको थियो। भारतले झन् अहिले गल्फै पारीको नेपाली भूमिमै बलमिचाइँ गरेर बाँध बाँध्न थालेको छ।

प्रतिक्रिया