सुदूरपश्चिम प्रदेशमा क्यान्सरको बिरामी खोज्न चिकित्सक टोली अग्रसर भएको छ।
प्रदेशका विभिन्न जिल्लामा शिविर सञ्चालन गरेर टोलीले क्यान्सरको बिरामी पत्ता लगाउने कार्य थालेको हो। टोलीले शिविर सञ्चालन गरेर पाठेघर र स्तन क्यान्सरको बिरामी खोजी कार्य गरिरहेको छ।
सुदूरपश्चिम प्रदेशमा महिलामा देखा परिरहेको पाठेघर र स्तन क्यान्सरको विकराल समस्या दृष्टिगत गरेर मुख्यमन्त्री कमलबहादुर शाहले क्यान्सर अस्पताल भरतपुरलाई क्यान्सर परीक्षणका लागि आग्रह गरेका थिए।
उनको आग्रहमा चिकित्सकको टोली सुदूरपश्चिम आएको सचिवालयले बताएको छ। सुदूरपश्चिमको अछाम, डडेलधुरा र कैलालीका केही पालिकामा परीक्षण गरिसकेको छ। कैलालीको बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य चेक जाँच गरिरहेको हो।
परीक्षण गरेर फर्केको चिकित्सकको टोलीसँग भेट गर्दै मुख्यमन्त्री शाहले दुई जिल्लाको पाठेघर र स्तन क्यान्सरको अवस्थाबारे जानकारी लिएका छन्। अछाममा २६० को पाठेघर र ३५० को स्तन क्यान्सरको परीक्षण गरिएको छ।
जिल्लामा पाँच जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सरको शङ्का लागेको डाक्टर वर्षा प्रसाईंले बताइन। उनले डडेलधुरामा १५० महिलाको पाठेघर र १७० जनाको स्तन क्यान्सरको परीक्षण गरिएको बताएकी छन्। डडेल्धुरामा २० जनामा पाठेघर र त्यत्ति नै जनामा स्तन क्यान्सरको आशङ्का गरिएको उनले बताइन।
क्यान्सरको शङ्का लागेका केसलाई टोलीले थप उपचारका लागि रेफर गरेको छ।
प्रतिक्रिया