कपिलवस्तुको कृष्णनगर भन्सार यार्डभित्रै दार्चुला घर भएकी एक किशोरी बलात्कृत भएकी छन् ।
चौबिसै घण्टा कडा सुरक्षा घेरा रहेको स्थानमा किशोरी बलात्कृतको समाचार बाहिरिएको छ ।
दार्चुला घर भएकी १६ वर्षीया किशोरी कृष्णनगर भन्सार यार्डभित्र अस्ति राति भारतीय ट्रक चालक कमलेश सिंहद्वारा बलात्कृत भएको भारतीय सुरक्षाकर्मीहरुले बताएका छन् । भारतीय सीमा सुरक्षा बलको बिओपी बढनी प्रमुख उमेश जाधवले पीडित किशोरीको अनुरोधमा चालकलाई पक्राउ गरेर भारतीय प्रहरीको जिम्मा लगाइएको बताए ।
भारतीय सुरक्षा स्रोतका अनुसार गैडाकोटस्थित गोर्खा बु्रअरीमा बियरको बोतल छोडेर फर्कंदै गरेको युपी ८३ टीटी ४०५९ नम्बरको ट्रकका चालकले किशोरीलाई चोरमाराबाट लगेको बताइन्छ । चन्द्रौटामा छाडिदिने भन्दै भारत कानपुर मेनपुरीका चालक कमलेश सिंहले अस्ति राति ११ बजे कृष्णनगर भन्सार यार्डमा पुर्याएको तथ्य खुलेको छ ।
उनले यार्डभित्रै रोकिएको ट्रकमा चालक सिंहले किशोरीलाई बलात्कार गरेका थिए । राति ३ बजेको समयमा किशोरी सीमानाबाट भारततर्फ आउँदै गरेको देखेपछि त्यहाँको एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त घटनाबारे जानकारी भएको बताइन्छ ।
विओपी प्रमुख जाधवका अनुसार लगत्तै हिजो बिहान भारत प्रवेश गरेपछि उक्त गाडीसहित चालकलाई एसएसबीले लिएको हो । त्यसपछि उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ भने किशोरीलाई भारतीय एएचटीयु नामक सामाजिक संस्थाको जिम्मा लगाइएको छ ।
संवेदनशील क्षेत्रमा किशोरी बलात्कृत हुनु, पीडित र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिनु नेपाली सुरक्षाकर्मीका लागि लज्जास्पद भएको कृष्णनगरबासी बताउँछन् । स्थानीय मुकेश शर्माले त्यस्तो ठाउँमा किशोरी बलात्कृत भएको खबर बाहिरिनुलाई अचम्म मानेका छन् ।
कृष्णनगर भन्सार कार्यालयका प्रवक्ता अधिकृत लेखनाथ भट्टराईले घटनाबारे जानकारी नै नभएको बताए । ‘भन्सार क्षेत्रको सुरक्षा यहाँ तैनाथ सुरक्षाकर्मीको हो, हाम्रो आफ्नै सेक्यूरिटी गु्रप छ । कसरी यस्तो हुन गयो म बुझ्छु,’ भट्टराइले भने । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई छलेर पीडित भारतीय एसएसबीको सम्पर्कमा पुग्नुलाई कतिपयले अचम्म मानेका छन् ।
पीडित युवती नेपाली नागरिक भएको र घटनास्थलसमेत नेपालभित्रै पर्ने भएकाले उनी किन रातको समयमा भारततर्फ गइन् ? चालकले ती किशोरीलाई कहाँबाट कसरी ल्याएका थिए भन्नेबारे आधिकारिक तथ्य बाहिरिएको छैन ।
प्रतिक्रिया