Wide Nepal News शुक्रबार ०९, फागुन २०८१ ०४:००

ओडिसाको केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृतिको मृत्यु प्रकरणमा जोडिएका एक भारतीय युवक पक्राउ

एजेन्सी एजेन्सी
सोमबार, फागुन ०५, २०८१
ओडिसाको केआइआइटीमा अध्ययनरत  नेपाली विद्यार्थी प्रकृतिको मृत्यु प्रकरणमा जोडिएका एक भारतीय युवक पक्राउ

भारतको ओडिसा राज्यको केआइआइटीमा बीटेक तेस्रो वर्षमा पढिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘आत्महत्या’मा जोडिएर एक युवा पक्राउ परेका छन् ।

भारतीय मिडिया संवादका अनुसार अदभिक श्रीवास्तव पक्राउ परेका छन् । उनलाई संवादले केटा साथी भनेर चिनाएको छ ।

हालसालै सार्वजनिक भएको एक अडिओमा प्रकृतिलाई धम्काउने श्रीवास्तवको अडिओ भाइरल भएको पनि संवादले उल्लेख गरेको छ ।

प्रकृतिले केआइआइटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा श्रीवास्तवको बारेमा उजुरी पनि दिएको तर कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

संवादसँग कुरा गरेको भारतीय प्रहरीले मृतकको परिवारलाई जानकारी दिइएको, शंकास्पद व्यक्ति पक्राउ गरिएको र के कारणले मृत्यु भएको हो भन्नेमा अनुसन्धान भइरहेको बताएको छ ।

केआइआइटीले भने आत्महत्या भएको भन्दै सार्वजनिक सन्देश राखेको छ । केआइआइटीले नेपाली विद्यार्थीलाई निस्कन पनि उर्दी जारी गरेको भिडिओ सार्वजनिक भएको छ ।

ओडिसा राज्यको भुवनेश्वरमा रहेको केआईआईटीले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिने भएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले गरेको ताकेता र छलफलपछि यस्तो निर्णय भएको दूतावासले जनाएको छ ।

केआईआईटीका रजिस्टार र अरु सरोकारवालासँगको छलफलपछि यस्तो जानकारी पाइएको बताइएको छ । भारतको केन्द्र सरकार र ओडिसाको मुख्यमन्त्री कार्यालयसँग सम्पर्क भैरहेको र आवश्यक सहयोग भएको पनि दूतावासले जानकारी दिएको छ ।

आइतबार मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनाको छानबिनमा केआईआईटीले जोड दिएको दूतावासले उल्लेख गरेको छ । लम्सालको घटनाको विरोधमा नेपाली विद्यार्थीले सोमबार प्रदर्शन गरेपछि केआईआईटीका अधिकारीले सबै नेपालीलाई अलग हुन र छात्रावास छोड्न उर्दी जारी गरेको थियो ।

दुई महिला शिक्षकले नेपालको बजेटभन्दा धेरै केआईआईटीको खर्च हुने भन्दै धम्काएको भिडिओ पनि सार्वजनिक भएको थियो ।

 

 

प्रतिक्रिया