दार्चुलाको दुहुँ गाउँपालिकामा सञ्चालन भएको एसइई प्रि- टेष्ट परीक्षा सम्पन्न भएको छ ।
शैक्षिकसत्र २०८१ को एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई लक्षित गरि गत माघ २७ गतेबाट सञ्चालन गरिएको प्रि-एसइई टेष्ट परीक्षा शनिबार (आज) सम्पन्न भएको हो ।
गाउँपालिका भरिका विद्यार्थीहरुको परीक्षा गाउँपालिकाको वडा नम्बर ५ मा रहेको धारीपाटा माध्यमिक विद्यालय धारीमा सञ्चालन भएको गाउँपालिकाका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।
एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुमा रहेको डर, त्रास, संकोच हटाइ तिब्र उत्साह र परीक्षा प्रतिको अभिरुचि बढाई स्वतन्त्र ढंगले राष्ट्रिय परीक्षा बोर्डद्वारा चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी गराउने उद्देश्यले प्रि-टेष्ट परीक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताउनुभयो ।
परीक्षामा गाउपालिकाभरिका ७७ जना विद्यार्थी सम्मिलित भएका थिए । परीक्षाको नतिजा पनि आजै प्रकाशन गरिएको शिक्षा शाखा संयोजक बमले बताउनुभयो । साधारण र प्राविधिक धारका सम्पूर्ण बिषयहरुको परीक्षा लिइएकोमा सहभागी ७७ जनामध्ये २५ जना विद्यार्थी उत्तीर्ण भएका बमले बताउनुभयो ।
परीक्षामा २.९ जिपिए सहित गौरिलमाण्डौं माध्यमिक विद्यालय हिकिलाका हरिश बडाल प्रथम भएको उहाँले बताउनुभयो । त्यसैगरी २.८३ जिपिए सहित धारीपाटा माध्यमिक विद्यालय धारीका पुजा बम द्वितीय हुनुभएको छ, भने २.८१ जिपिए सहित गौरिलमाण्डौं माध्यमिक विद्यालय हिकिलाका सरिता बडाल तृतीय भएको बमले जानकारी दिनुभयो ।
यस्तै परीक्षामा सहभागी विद्यार्थीहरु लाई शुभकामना प्रदान समेत गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष धन सिंह कुवरको अध्यक्षतामा सञ्चालन भएको शुभकामना प्रदान कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष देव बहादुर बम प्रमुख अतिथि रहनुभएको थियो ।
प्रतिक्रिया