Wide Nepal News आइतबार २२, असार २०८२ ०७:३२

सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापति निर्विरोध

सम्बाददाता सम्बाददाता
शनिबार, फागुन ०३, २०८१
सुदूरपश्चिम प्रदेश सभाका चार संसदीय समितिका सभापति निर्विरोध

सुदूरपश्चिम प्रदेशका चार वटा संसदीय समितिमा आज चार जनाको मात्रै उम्मेदवारी परेको छ।

आधिकारिक घोषणा भने आइतवारमात्रै हुने प्रदेशसभा सचिवालयले जनाएको छ।ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा एकएक जनाको उम्मेदवारी परेको हो।

त्यस्तै नयाँ गठन गरिएको विशेषाधिकार समितिमा पनि एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ।

सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसेकी तुलसी देवकोटाको उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

पुस ११ मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो। उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको थियो।

विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो। आज सोही सहमतिअनुसार कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका हुन्।

आइतबार बिहान १० देखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ। १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ

सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यसअघि नै निर्वाचन भएर सभापति चयन भइसकेको थियो, तर विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री अवसर आएर मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका थिए।

विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन्।

प्रतिक्रिया