Wide Nepal News बुधबार १९, चैत २०८१ ०९:४९

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक, बैतडीमा पुर्चौंडी नगरपालिका प्रथम

सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन ०२, २०८१
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक, बैतडीमा पुर्चौंडी नगरपालिका प्रथम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकंनको नतिजा सार्वजनिक गरेको छ ।

विभिन्न १७ ओटा सूचकमा आधारित रहेर स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ । 

आयोगले प्रकाशन गरेको नतिजा अनुसार बैतडीका १० ओटा स्थानीय तहमध्ये पुर्चौंडी नगरपालिका ६२.५ प्रतिशत अंक ल्याएर पहिलो भएको छ । यस्तै ४६.२ प्रतिशत अंकसहित पञ्चेश्वर गाउँपालिका पुछारमा रहेको छ । 

आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार पाटन नगरपालिकाले ६१.६ प्रतिशत, शिवनाथ गाउँपालिकाले ५९.८ प्रतिशत, दोगडाकेदार गाउँपालिका ५८.८ प्रतिशत, सुर्नया गाउँपालिकाले ५८ प्रतिशत र सिगास गाउँपालिकाले ५४ प्रतिशत अंक पाएको छ । 

यस्तै दशरथचन्द नगरपालिकाले ५२.३ प्रतिशत, मेलौली नगरपालिकाले ४९.५ प्रतिशत र डिलाशैनी गाउँपालिकाले ४६.९ प्रतिशत अंक प्राप्त गरेको छ । 

आयोगले विभिन्न सूचकहरु तय गरेर मूल्यांकन गरेको जनाएको छ । जसमा पालिकाहरूले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८१ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका छन् ।

यस्तै स्थानीय तहहरुले प्रदेश सरकारलाई दिनुपर्ने विभिन्न करबापतको रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जमा गरे÷नगरेको, यस्तै चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी भर्नादर, चार पटक गर्भजाँच गराउने आमाको संख्या, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको अनुपातलाई समेत आयोगले सूचक बनाएको छ । 

प्रतिक्रिया