Wide Nepal News शुक्रबार ०९, फागुन २०८१ ०३:५०

धनगढीमा २९ करोड खर्चेर निर्माण गरिएको होल्डिङ सेन्टर ४५ महिनादेखि अलपत्र

सम्बाददाता सम्बाददाता
बिहिबार, माघ २४, २०८१
धनगढीमा २९ करोड खर्चेर निर्माण गरिएको होल्डिङ सेन्टर ४५ महिनादेखि अलपत्र

कैलालीको धनगढीमा २९ करोड खर्चेर निर्माण गरिएको होल्डिङ सेन्टर ४५ महिनादेखि अलपत्र छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ बडहरामा कोरोना महामारीको समयमा निर्माण गरिएको सेन्टर सञ्चालनमा बेवास्ता गरिएको हो। कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकालाई राख्ने उद्देश्यले निर्माण गरिएको होल्डिङ सेन्टर ४५ महिनादेखि अलपत्र छ।

होल्डिङ सेन्टरलाई अब के बनाउने भन्ने टुङ्गो लाग्न नसक्दा प्रयोगमा आउन नसकेको हो। २०७८ को जेठमा निर्माण सकिएको एक हजार शय्याको होल्डिङ सेन्टर ४५ महिना बढी समयदेखि उपयोग विहीन छ।

होल्डिङ सेन्टरका लागि बनेको संरचना प्रयोग गर्ने सवालमा अझै पनि कुनै टुङ्गो लागेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सञ्चालनका लागि निर्णय हुन बाँकी रहेको बताए। उनले भने, ‘रक्षा मन्त्रालयले बनाएको हो। प्रधानमन्त्री कार्यालय मातहतको हो। विपत् मा काम लाग्ने र अन्य समयमा पनि काम लाग्ने गरेर कार्यविधि बन्दैछ। तर, निर्णय भएको छैन। फेरि बैठक बस्न सकेको छैन।’

कोरोना महामारीको बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको हो। अहिले नेपालसहित विश्वमा कोरोना सङ्क्रमण छैन।

कोरोना नभएकाले कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएको ठुलो लगानीको संरचना अलपत्र छ। धनगढीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेकाले होल्डिङ सेन्टरको रेखदेख नेपाली सेनाले नै गर्दै आएको छ।

२०७८ साल असार ३ मा निर्माणको ठेक्का पाएर हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर बनाएको हो। बडहरास्थित सामुदायिक वन क्षेत्रमा बनेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा कोठा रहेका छन्।

प्रतिक्रिया