Wide Nepal News बुधबार २८, फागुन २०८१ १०:२२

विवाहको उमेर यथावत कायम हुनुपर्ने मागसहित किशोरकिशोरीले पठाए प्रधानमन्त्रीलाई चिठी

सम्बाददाता सम्बाददाता
बिहिबार, माघ २४, २०८१
विवाहको उमेर यथावत कायम हुनुपर्ने  मागसहित किशोरकिशोरीले पठाए प्रधानमन्त्रीलाई चिठी

विवाहको उमेर २० बर्ष नै कायम राख्न बैतडीका किशोरकिशोरीहरुले माग गरेका छन् ।

उनीहरुले प्रधानमन्त्रीलाई चिठी पठाउँदै २० बर्षभन्दा मुनि विवाह गर्दा विभिन्न समस्या सिर्जना हुने भएकाले विवाहको उमेर २० बर्ष नै कायम राख्न आग्रह गरेका हुन् । 

संसदको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विवाहको उमेर घटाउन बहस शुरु गरेकाले किशोरकिशोरीहरुले विवाह उमेर नघटाउन आग्रह गरेका हुन् । 

यसअघि प्रमुख जिल्ला अधिकारीमार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञापन पत्र बुझाएका किशोरकिशोरीहरुले प्रधानमन्त्री सामूहिक रुपमा चिठी पठाएका हुन् । 

पाटन नगरपालिका वडा नं २ र ६ मा रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई चिठी पठाएको बालविवाह अन्त्यको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले जानकारी दिइन् ।  

२० बर्षभन्दा कम उमेरमा विवाह गर्दा मानव जीवनमा विभिन्न खालका समस्याहरु आउने भएकाले विवाहको उमेर २० बर्ष नै उपयुक्त रहेकाले आफूहरुले प्रधानमन्त्रीलाई चिठी पठाएको किशोरकिशोरी सहजकर्ता पवित्रा ऐरले बताइन् । नेपालको मौजुदा कानुनमा विवाहको उमेर २० बर्ष कायम रहेकाले त्यसलाई यथावत राख्न चिठीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताइन् । 

संसदीय समितिको उपसमितिले विवाहको उमेर १८ बर्ष राख्दा उपयुक्त हुने सुझाव आएको बताएपछि किशोरकिशोरीहरु त्यसको विपक्षमा उभिएका छन् । २० बर्षभन्दा मुनिको विवाहले किशोरकिशोरीहरुले शिक्षा समेत ग्रहण गर्न नपाउने अवस्था सिर्जना हुने उनीहरुले बताउँदै आएका छन् । 

मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । साथै तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवानाको सजाय तोकिएको छ ।

मुलुकी देवानी संहितामा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्था भएपनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । यसले विभिन्न जटीलताहरु देखापरेका कतिपय सरोकारवालाहरुले बताएका छन् । 

त्यसैगरी कानुनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको नमानिने समेत उल्लेख छ ।

Chhithi-1738810471.jpg

प्रतिक्रिया