दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरू, टिंकर जोड्ने बाटो निर्माणको बिषयमा सरोकारवालाहरुसंगको छलफल विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, पूर्व प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाली सेनाका कर्नेल राजेश कटुवाल, प्रहरी निरीक्षक कान्ती राज जोशी, शसस्त्र प्रहरी प्रतिनिधि गोविन्द सिंह थापा, राजनितिक दलका प्रतिनिधि, लगायत सरोकारवालाहरुको उपस्थितिमा बैठक सम्पन्न भएको व्याँस गाउँपालिका प्रवक्ता उपेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
बैठकले छाङरू, टिंकर जोड्ने बाटो निर्माणको लागि बजेट बिनियोजन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
आज बसेको बैठकले बाटोको तीन दिनभित्र स्थलगत निरीक्षण गरि प्रारम्भिक सम्भाव्यता प्रतिवेदन पेश गर्ने, सोहि क्षेत्रमा नेपाली सेनाले सडक निर्माण कार्य गरिरहेको हुँदा सडक निर्माणका क्रममा कडा चट्टानी भु–भागमा बिष्फोटक पदार्थ समेत प्रयोग गरिरहेकोले सडककै एलामेन्टमा ब्याँस गाउँपालिकाले लागत ब्यहोर्ने गरि घोडेटो बाटो निर्माणको क्रममा कडा चट्टान भएको ठाउँमा निर्माणको जिम्मेवारी मन्त्रालय मार्फत सेनालाई दिन अनुरोध गर्ने निर्णय सर्वपक्षिय बैठकबाट पारित गरिएको गाउँपालिकाका प्रवक्ता धामीले बताउनुभयो
व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरूबाट वडा नम्बर २ दुम्लिङसम्मको घोडेटो बाटो निर्माणका लागि अर्थ मन्त्रालयले ५ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
दार्चुलाबाट एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको सर्वदलिय टोलीले पटकपटक गरेको पहल÷अनुरोध तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको निर्देशनमा अर्थ मन्त्रालयबाट व्याँस जोड्ने बाटो बनाउन बजेट निकासा गरिएको हो ।
व्याँस क्षेत्रमा घोडेटो बाटो समेत नहुँदा त्यस क्षेत्रका नागरिक जिल्ला सदरमुकाम आवत जावत गर्न भारतको बाटो प्रयोग गर्दै आएका थिए । जिल्ला सदरमुकाम सम्म आउन समेत भारतीय प्रशासन संग अनुमति लिनुपर्ने नागरिकको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न पुर्व मन्त्री ठगुन्ना सहितको टीमले सक्रियता देखाए पछि यक्त क्षेत्रमा घोडेटोबाटो निर्माण हुने भएको हो ।
नेपालको आफ्नै भूगोलमा हिड्न बाटो नहुनु निकै लज्जाको विषय भएकोले आफ्नै घर जान भारतको अनुमति लिनुपर्ने अवस्थाको अब अन्त्य हुने पुर्व मन्त्री ठगुन्नाको भनाई छ । साथै देशभक्त र माटोप्रति माया भएका सबै नागरिकलाइ बाटो निर्माणको लागी सहयोग गर्न पनि पुर्व मन्त्री ठगुन्नाले आग्रह गर्नुभएको छ ।
उक्त बजेटले पुरै बाटो बनाउन सम्भव नहुने भएकोले अप्ठेरो स्थानमा उक्त बजेट खर्च गरेर तथा सजिलो ठाउँमा उपभोक्ता, नेता, कार्यकर्ता र देशभक्त नागरिकसहितको श्रम अभियान सञ्चालन गरेर बाटो बनाउनुपर्ने उहाँले बताउनुभयो ।
छलफलमा सहभागि व्याँसबासीले बजेटको सदुपयोग गर्न र प्रतिवद्धता अनुसार काम गरिदिन अनुरोध गरेका छन् ।
प्रतिक्रिया