Wide Nepal News आइतबार २०, माघ २०८१ ०८:५१

कञ्चनपुरमा काँग्रेसका भिमदत्त नगर सभापति कलौनी मृत फेला

सम्बाददाता सम्बाददाता
शनिबार, माघ १९, २०८१
कञ्चनपुरमा काँग्रेसका भिमदत्त नगर सभापति कलौनी मृत फेला

कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ। भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका थिए। त्यसपछि प्रहरीले घटनास्थल सिल गरेर अनुसन्धान थालेको जनाएको छ।

प्रहरीले अहिले घटनास्थललाई सिल गरिएको र चिकित्सकसहित टोली मगाइएको जनाएको छ। अहिलेसम्म मृत्युको कारण खुलेको छैन भने घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुुर पठाइएको छ।

कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। अहिलेसम्म प्रहरीले शवलाई छोएको छैन। तालिमप्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको भनाई छ। नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए।

नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए। कलौनी मृत फेला परेको स्थानबाट ५ सय मिटरको दुरीमा उनको घर छ।

 

प्रतिक्रिया