Wide Nepal News बिहिबार १७, माघ २०८१ १०:५३

महाकाली लोकमार्गमा पैदल बाटो समेत नखुल्दा जनजीवन प्रभावित

सम्बाददाता सम्बाददाता
मङ्गलबार, माघ १५, २०८१
महाकाली लोकमार्गमा पैदल बाटो समेत नखुल्दा जनजीवन प्रभावित

दार्चुला सदरमुकाम खलंगा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिन देखि अवरुद्ध बनेको छ ।   

सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध बनेको हो ।

गत शुक्रबार सडक चौडा बनाउने क्रममा पहिरो खसेको थियो । पहिरोमा परि स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाईते भए । स्काभेटर नदीमा फसेको छ । स्काभेटर चालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी रिफर गरिएको थियो ।

एकमात्रै मुख्य राजमार्ग अवरुद्ध बनेपछि साना तथा ठूला सवारी साधन दुईतर्फ रोकिएका छन् । धनगढी, महेन्द्रनगर, काठमाण्डौंबाट आउने बस तथा जीपहरु किम्तडीबाट फर्किरहेका छन् । मालबाहक ट्रक रोकिएका छन् ।

खलंगामा रोकिएका बस, जीपहरु बसपार्कमा थन्किएका छन् । एम्बुलेन्स चल्न पाएको छैन् । बैकल्पिक मार्ग नहुँदा खलंगासम्मको आवतजावत ठप्प भएको छ । जिल्ला अस्पतालको एम्बुलेन्स किम्तडीमा रोकिएको छ । चार दिनसम्म सडक नखुलेपछि सर्वसाधारणले आवतजावतमा कठिनाई भोग्नुपरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडक खण्डको महाकाली नगरपालिका–५ स्थित ठड्याकाठा भीरमा सडक खुलाउन सडक डिभिजन बैतडीलाई पत्रचार गरेको छ । आइतबार कार्यालयलाई महाकाली लोकमार्ग मर्मत तथा सञ्चालन गर्न पत्रचार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सडक चौडा गर्ने क्रममा खसेको पहिरोले सदरमुकाम खलंगासम्म आवतजावतमा कठिनाई भई नागरिकको जनजीवन कष्ठकर भएको उल्लेख गरेका छन् । जिल्ला प्रशासन कार्यालयले उक्त पत्रलाई बोदार्थको रुपमा गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयलाई समेत समन्वय सहजीकरणको लागि पठाएको छ ।

प्रशासनको पत्रचारपछि निर्माण व्यवसायीले सोमबार साझदेखि पैदल बाटो खुलाउने प्रयास गरेको छ । सडक पूर्णरुपमा सुचारु हुन भने केहि समय अझै लाग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । तत्काल बाटो खुलाउने प्रयासमा लागेका छांै प्रजिअ जोशीले भने, सडक खुलाउन भने समय लाग्ने अवस्था देखिन्छ ।

दार्चुला सदरमुकाम खलंगा जोड्न बैकल्पिक सडकको रुपमा खार खलंगा गोकुलेश्वर सडक हो । तर यो सडकमा अहिले मर्मत सम्भारको कार्य चलिरहेको छ । सडक कालोपत्रे भएको छैन् । जसको कारण नागरिकले अहिले गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्न बाध्य छन् ।

विद्यालय आउने बालबालिका जोखिममा

दार्चुला सदरमुकाम खलंगा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिन देखि अवरुद्ध हुँदा सदरमुकाम खलंगामा अध्ययन गर्न आउने बालबालिका जोखिममा छन् । सदरमुकाम नजिकै रहेको ठड्याकाठामा सडक अवरुद्ध हुँदा बालबालिकाले जोखिम मोलेर आवतजावत गर्नुपरेको अभिभावकको गुनासो छ ।

महेन्द्र नमूना मावि खलंगा र एसियन अकाडमीको स्कुल बस रोकिएका छन् । जसको कारण धाप, दत्तु, किम्तडी, लगायतका ठाउँबाट आउने विद्यार्थी मार्कामा परेका छन् ।

विद्यार्थीलाई भीरको बाटो हिडाउदा निकै जोखिम भएको महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक दामोदर जोशी बताउँछन् । शिक्षक विद्यार्थीले भीरबाट हिड्नुपरेको छ । टाढाबाट दैनिक रुपमा विद्यालय आउने विद्यार्थीले चर्को शुल्क तिर्नुपरेको छ ।

बिहान ६ बजे विद्यालय लाग्छ । अध्यारोमै विद्यार्थीले भीरको बाटो चढेर आउँदा जोखिमपूर्ण अवस्था छ, प्रधानाध्यापक जोशीले भने, सडक खुलाउन भइरहेको ढिलाईले विद्यार्थीको पढाईमा समस्या हुने अवस्था आएको छ ।

दैनिक सयौं विद्यार्थी खलंगा अध्ययन गर्न आउने गर्छन् । झण्डै एक किलोमिटर पहिरो क्षेत्रमाथिबाट आवतजावत गर्न बाटो बनाइएको छ । माथिबाट तल हेर्दा सिधै महाकाली देखिन्छ,। विद्यार्थी, बृद्धबृद्धालाई रिंगटा लागेर समेत तल खस्ने अवस्था देखिएको अभिभावक बताउँछन् ।

विरामीलाई उपचारमा आउँजाउँमा कठिनाई

सदरमुकाम खलंगा नजिकै रहेको ठड्याकाठाभीरमा सडक चौडा पार्ने क्रममा गत शुक्रबार स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाईते भए । प्रारम्भिक उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइयो । तर जिल्लामा निको नहुने अवस्था आएपछि रेफर भनियो । तर रेफर गर्न बाटो थिएन् । जिल्ला प्रशासन कार्यालयले नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठायो ।

तर हेलिकप्टरमार्फत बाहिर लिन नसक्ने विरामीले भने अहिले पनि धौधौ गर्दै अस्पताल पुग्न बाध्य छन् । अस्पताल आउन ठड्याकाठा भीरमा पूरै हिड्नुपर्ने छ । जोखिम अवस्थामा बिरामी कसरी हिडेर आउन सक्छन्, महाकाली नगरपालिका–९ का प्रकाश सामन्तले भने, विरामी बाटोमै मर्ने अवस्था छ ।

अस्पतालमा जुनसुकै बेला गम्भीर खाले विरामी आउन सक्छन्, जिल्ला अस्पताल दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठले भने, यस्तो अवस्थामा बाहिर रेफर गर्न बाटो छैन् । सडक खुलाउन भइरहेको ढिलाईले विरामीलाई सास्ती छ । स्टेचरमै बोकेर पहिरो कटाउन पनि बाटोको अवस्था राम्रो छैन् ।

सडक खुलाउनतर्फ समयमै ध्यान नदिने हो, विरामीलाई उपचार गर्न समस्या हुने उनको भनाई छ ।

प्रतिक्रिया