Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०२:३८

बैतडीमा बजार अनुगमन, १ लाख बढीका म्याद नाघेका सामान बरामद गरि नष्ट

सम्बाददाता सम्बाददाता
बिहिबार, असोज १७, २०८१
बैतडीमा बजार अनुगमन, १ लाख बढीका म्याद नाघेका सामान बरामद गरि नष्ट

बैतडीका प्रत्येक बजारहरुमा म्याद नाघेका अखाद्य सामग्री विक्रि हुने गरेको पाइएको छ । पछिल्लो समयमा बजार अनुगमन गर्दा हरेक बजारमा म्याद नाघेका सामग्री फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए । 

चालु आर्थिक बर्षमा अहिलेसम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा १ लाख ११ हजार रुपैयाँ बढीको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए । 

मंगलबारमात्रै शिवनाथ गाउँपालिकाका बजार अनुगमन गर्दा २४ हजार ५३१ रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको कठायतले बताए । गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँदको संयोजकत्वमा रहेको अनुगमन टोलीले गाउँपालिकाका वडा नं २, ३ र ६मा रहेका बजारको अनुगमन गरेको हो । 

ग्रामीण क्षेत्रका बजारहरुमा म्याद नाघेका सामग्रीको बढीमात्रामा विक्रिवितरण हुने गरेको पाइएको कठायतले बताए । 

गएको महिना पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा अनुगमन गर्दा एकै दिन ४८ हजार बढीको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कठायतले बताए ।

अहिले पनि बजार अनुगमन कार्य जारी रहेको कठायतले बताएका छन् । चाडपर्व लक्षित बजार अनुगमन भइरहेको उनले बताए । यसका साथै स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रमा बजार अनुगमन गर्नुपर्ने तथा म्याद नाघेका सामग्रीको विक्रिवितरणमा रोक लगाउन व्यापारी र उपभोक्ता दुवै सचेत हुनुपर्नेमा कठायतले जोड दिए । 

प्रतिक्रिया