Wide Nepal News आइतबार २३, भदौ २०८१ ०७:२२

दार्चुलामा इन्सेकद्धारा मानव अधिकार वर्ष पुस्तकको अर्धबार्षिक समीक्षा

सम्बाददाता सम्बाददाता
बुधबार, असार १३, २०८१
दार्चुलामा इन्सेकद्धारा मानव अधिकार वर्ष पुस्तकको अर्धबार्षिक समीक्षा

दार्चुलामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ को लागि संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादती घटनाहरुको अर्धबार्षिक समीक्षा गरिएको छ ।

सन् २०२४ जनवरीदेखि जुनसम्म संकलन गरिएका घट्नाहरुको बारेमा जिल्लास्थित सरोकारवामाझ समीक्षा गरिएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको बारेमा प्रतिवेदन प्रस्तुत गरे । जसअनुसार जिल्लामा छ महिनाको अवधिमा घरेलु हिंसाका २२ वटा, हत्या ३, आत्महत्या दुरूत्साहन १, महिला बलात्कार २, दुव्र्यवहार १, हत्या ३, तथा बालिका बलात्कारका ३ वटा गरी ३३ वटा घटना अभिलेख भएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले अधिकार कार्यान्वयनमा सबै लाग्नुपर्ने धारणा राखे । उनले भने, ‘अधिकार छ, तर दायित्व पनि छ भनेर भुल्नु हुँदैन् ।’ जिल्लामा रहेका सरोकारका विषयमा सबैले एकजुट भए कार्यान्वयनमा सहज उनको विश्वास छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले इन्सेकले गर्ने हरेक प्रकाशन तथा मानव अधिकार विषयहरु प्रहरीले गम्भीरताका साथ अध्ययन गर्ने गरेको बताए । ‘हामीलाई केन्द्रकै निर्देशनअनुरुप मानव अधिकारसँग सम्बन्धित विषयहरु अध्ययन गर्न लगाइन्छ,’ उनले भने ‘अहिले कारगारको अवस्था दयनीय छ । उनीहरुको अवस्था भौतिक पूर्वाधारको अवस्थाबारे प्रकाशन गर्न आग्रह गर्छु ।’

दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं महिला अधिकारकर्मी धाना धामीले सम्बन्ध विच्छेदका घट्नाका कारण बालबालिकाको मानसिक असर पर्ने गरेको भन्दै यसतर्फ राज्यको ध्यानाकर्षण हुनुपर्ने बताइन् ।

अधिवक्ता हरिशचन्द्र जोशीले बालविवाहका कारण सम्बन्ध विच्छेद बढ्ने गरेको धारणा राखे । उनले भने ‘आर्थिक कारण र निरक्षरताका कारण पनि सम्बन्ध विच्छेदका घट्ना बढे ।’

नागरिक समाजका अध्यक्ष महेश भट्टले बालुवामा आश्रित महिलाहरुको अवस्थाबारे प्रतिवेदनमा समेट्न सुझाव दिए । ‘धेरै महिलाहरु अहिले पनि महाकालीको बालुवा गिट्टीमा आश्रित छन् । उनीहरुको दैनिकी सधै जोखिममा पनि छ । तर स्थानीय सरकारले त्यसतर्फ चासो दिएको देखिदैन्,’ उनले भने ।

पत्रकार महासंघ दार्चुला अध्यक्ष कृष्णसिह धामी शिक्षामा भइरहेको व्यापारीकरण, स्वास्थ्य र नीजि मेडिकलहरुमा औषधिमा भइरहेको बद्मासीबारे अनुगमन गर्नुपर्ने बताउँछन् ।

समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका गणपति हर्कराज पन्त, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिव बहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख देवेन्द्र कुमार थापा, नेकपा एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशी, नेपाली काग्रेस दार्चुलाका सहसचिव राजु अवस्थी, नेकपा माओवादी केन्द्रका नेता खडकसिह धामी, पत्रकार महासंघ अध्यक्ष कृष्णसिह धामी, उपप्राध्यापक धाना धामी, नागरिक समाज दार्चुला अध्यक्ष महेश भट्ट लगायत, कार्यालय प्रमुख तथा प्रतिनिधि, महिला अधिकारकर्मी एवं पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया