Wide Nepal News शनिबार १२, साउन २०८१ ०३:०७

नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रक्षेपण

एजेन्सी एजेन्सी
आइतबार, जेठ २०, २०८१
नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रक्षेपण

भारतमा सातौं र अन्तिम चरणको लोक सभा चुनाव सकिएसँगै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रोपटक चुनाव जित्ने प्रक्षेपण गरेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार लगभग सबै एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन्।

त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि जित्ने प्रक्षेपण गरिएको छ।

exit-poll-1717253491.jpg
५४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन एनडिएलाई २७२ सिट चाहिन्छ।

चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन्। यसअघि जवाहरलाल नेहरू पनि सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए।

मोदीले नेतृत्व गरेको एनडिए गठबन्धनले पछिल्ला दुई चुनाव, सन् २०१४ र २०१९ मा पनि बहुमत ल्याएको थियो। 

मोदी पछिल्ला दस वर्षदेखि भारतका प्रधानमन्त्री छन्।

सन् २०१९ को निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट सहित बहुमत ल्याएको थियो। यसपालि पनि उसले एक्लै बहुमत पुर्‍याउने अनुमान छ।

भारतका एक्जिट पोलहरूले सन् २००४ र २००९ मा चुनावको ठीक प्रक्षेपण गर्न सकेका थिएनन्।

सन् २००४ मा भाजपाले नेतृत्व गरेको एनडिए गठबन्धनले बहुमत ल्याउने र भाजपा नेता अटल बिहारी बाजपेयी प्रधानमन्त्री बन्ने प्रक्षेपण गरिएको थियो। तर सो निर्वाचनमा कंग्रेस आईले नेतृत्व गरेको युनाइटेड पिपल्स अलायन्स (युपिए) ले जित हासिल गरेको थियो। कंग्रेस आईका नेता तथा पूर्वअर्थमन्त्री मनमोहन सिंह प्रधानमन्त्री चुनिएका थिए।

सन् २००९ मा पनि युपिए गठबन्धनको थोरै सिट आउने भनेर एक्जिट पोलहरूले गरेको अनुमान मिलेको थिएन। त्यो चुनावपछि पनि युपिएकै मनमोहन सिंह दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए।

तर सन् २०१४ र सन् २०१९ का दुई आमनिर्वाचनमा एक्जिट पोलहरूले चुनावको नतिजा ठीक प्रक्षेपण गरेका थिए।

प्रक्षेपणअनुसार दुबैपटक भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याएको थियो।

प्रतिक्रिया