Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:०३

शैक्षिक गुणस्तर सुधारका लागि डिलासैनी गाउँपालिकाले शैक्षिक सम्मेलनको आयोजना गर्दै

सम्बाददाता सम्बाददाता
मङ्गलबार, जेठ १५, २०८१
शैक्षिक गुणस्तर सुधारका लागि डिलासैनी गाउँपालिकाले शैक्षिक सम्मेलनको आयोजना गर्दै

बैतडीको डिलासैनी गाउँपालिकामा बुधबारदेखि प्रथम शैक्षिक सम्मेलनको आयोजना हुने भएको छ । 

"समृद्ध डिलासैनीको आधार, शिक्षामा गुणस्तर सुधार" मूल नाराका साथ गाउँपालिकाले यहीँ जेठ १६, १७ र १८ गते शैक्षिक सम्मेलनको आयोजना गर्न लागेको वडा नम्बर ७ का वडाअध्यक्ष एवम् सामाजिक विकास शाखा संयोजक प्रकाशमणी भट्टले जानकारी दिएका छन् । 

गाउँपालिकाको वडा नम्बर ५ स्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा आयोजना गरिने शैक्षिक सम्मेलनमा गाउँपालिका भरिका ५६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय सुधारका योजना र आगामी रणनीतिबारे छलफल गर्ने कार्यक्रम रहेको छ । यस्तै सम्मेलनमा कार्यपत्र प्रस्तुतीकरण, विद्यार्थीहरुद्धारा बिज्ञान तथा कला प्रदर्शनी र विविध सांस्कृतिक प्रतियोगिता सञ्चालन हुने सामाजिक विकास शाखा संयोजक भट्टले बताए । 

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गइरहेको वास्तविकतालाई मध्यनजर गर्दै प्रथम शैक्षिक सम्मेलनका माध्यमबाट गाउँपालिकाभरिका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीको भनाइ छ । 

समाजमा विद्यालयमा भौतिक संरचना निर्माण हुनु अथवा भवन बन्नुलाई विकास भएको मान्ने भाष्य स्थापित भइरहेकोमा भवन निर्माण हुनुलाई मात्रै विकास भएको मान्न नसकिने उल्लेख गर्दै अध्यक्ष जोशीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार आफूहरुको पहिलो प्राथमिकता रहेको बताए । 

सम्मेलनमा विद्यालयहरुको शैक्षिक गुणस्तर सधारका लागि जनप्रतिनिधी, शिक्षक, अभिभावक तथा बुद्धिजिवीहरुबाट प्राप्त सुझाव, योजना तथा लक्ष्यमाथि विचार, विमर्श गरिने तथा सरोकारवाला सबैलाई जिम्मेवार बन्न सम्मेलन कोशेढुंगा सावित हुने उनको भनाई छ । 

यसैबिच गाउँपालिकाले भोलिदेखि लगातार ३ दिनसम्म सञ्चालन हुने उक्त शैक्षिक सम्मेलनमा सहभागि भई विद्यालय सुधारका लागि आवस्यक सुझाव दिन सरोकारवालाहरुलाई अनुरोध गरेको छ । 

प्रतिक्रिया