Wide Nepal News सोमबार १७, बैशाख २०८१ ११:५२

सुदूरपश्चिममा मुख्यमन्त्री चयन गर्न दलहरुबिच नै रस्साकसी

सम्बाददाता सम्बाददाता
शुक्रबार, चैत ३०, २०८०
सुदूरपश्चिममा मुख्यमन्त्री चयन गर्न दलहरुबिच नै रस्साकसी

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दलहरुबिच रस्साकसी नै चलेको छ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा नजिकिँदै गर्दा विशेष गरी मुख्यमन्त्रीका लागि दलहरुबिच तीव्र रुपमा छलफल भइरहेको हो। मुख्यमन्त्रीसहित मन्त्रालयको भागबण्डाका लागि अहिले बालुवाटरमा बैठक जारी छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले दाबी गरेपछि केन्द्रीय नेताहरुको बैठकबाट निर्णय गरिने भएको हो।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओली, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुको बिचमा सुदूरपश्चिमको मुख्यमन्त्री र मन्त्रीहरुको विषयमा छलफल जारी रहेको छ।

समाजवादी पार्टीबाट सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाश रावलले केन्द्रमा बैठक जारी रहेको बताए। उनले भने, ‘बालुवाटारमा बैठक जारी रहेको छ। सुदूरपश्चिममा समाजवादी र नागरिक उन्मुक्तिको मुख्यमन्त्रीमा दाबी हो। अहिलेसम्म निर्णय भएको छैन।’ सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्।

नयाँ गठबन्धन अनुसार प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने समजदारी भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीका आन्तरिक विवाद भएपछि समस्या देखिएको छ। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कैलाश चौधरीले आफ्नो पार्टीले मुख्यमन्त्री पाउने बताए। तर, केन्द्रमा निर्णय हुन बाँकी रहेको उनले बताए। उनले भने, ‘केन्द्रमा बैठक हुँदैछ।

मुख्यमन्त्रीमा हाम्रो दाबी हो। हामीले मुख्यमन्त्री पाउने हो। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने उनको दाबी छ। संसदीय दलको नेताले मात्र मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्ने कुनै कानुनी विषय नभएको तर्क उनको छ। दलको नेता बाहेकलाई पनि पार्टीले मुख्यमन्त्री बनाउन सक्ने बुझाइ उनको छ। चौधरीले बैसाख १ गते नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख सपक्ष दाबी पेस गर्ने बताए।

नेपाली काँग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकार चैत २२ गते ढलेपछि प्रदेश प्रमुख नजिर मियाँले १० दिन (वैशाख २ गते)भित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको लागि आह्वान गरेका छन्। सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ प्रदेश सभा सदस्यहरुको मत आवश्यक हुन्छ। तर, ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको र हालै नागरिक उन्मुक्ति पार्टीका इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्।

नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्। अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ। नयाँ सत्ता गठबन्धन दलहरुमा माओवादीको १० (सभामुख बाहेक), एमालेको १०, एकीकृत समाजवादीको ४ र नाउपाको ६ मध्ये ३ र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी छ।

प्रतिक्रिया