Wide Nepal News मङ्गलबार १८, बैशाख २०८१ ०४:३९

शैल्यशिखर नगरपालिकाको सार्वजनिक सुनुवाई : शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राखेर काम गर्ने प्रतिबद्धता

सम्बाददाता सम्बाददाता
शुक्रबार, चैत ३०, २०८०
शैल्यशिखर नगरपालिकाको सार्वजनिक सुनुवाई : शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राखेर काम गर्ने प्रतिबद्धता

शैल्यशिखर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

शैल्यशिखर नगरपालिकाको आयोजना तथा असल शासन क्लब जिल्ला समन्वय समिति दार्चुलाको सहजीकमा  नगरपालिकाको चालु आर्थिक वर्ष २०८०।८१ को दोस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सुशासन, पारदर्शिता र जवाफदेहितालाई स्थापित गर्न नगरपालिकासहित ९ वटै वडा कार्यालयहरुको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था तथा विकास निर्माणका गतिविधीहरुको जानकारी गराइनुका साथै सेवाग्राही नागरिकहरुका सकारात्मक सुझाव, गुनासो तथा जिज्ञासालाई समेटिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिनुभयो । 

यस्तै कार्यक्रमका जवाफदेही वक्ता एवम् नगर प्रमुख विजयसिंह धामीले नगरपालिकाको विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै नागरिक समाजबाट आएका सकारात्मक सल्लाह, सुझाव तथा गुनासोहरुको सम्बोधन गर्न आफू तयार रहेको बताउनुभयो । 

नगरपालिकाको शिक्षा र स्वास्थ्यको अवस्था खस्किदै गइरहेको सरोकारवालाहरुको गुनासोलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख धामीले आगामी वर्षदेखि उल्लेख्य रुपमा सुधार ल्याउने गरि नतिजा दिन आफूले सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस्तै नगरपालिकाको हितमा काम गर्न नागरिक समाजबाट आएका सकारात्मक सुझावहरुलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने तथा नागरिकस्तरबाट समेत नगरको विकासका लागि सहयोगको अपेक्षा रहेको उपप्रमुख शान्ती खडायतको भनाई छ । 

विहीबार शैल्यशिखर नगरपालिकाको सभाहलमा आयोजित सार्वनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार नरेन्द्र कार्की, जिज्ञासु खत्री र रमेश खत्रीले गर्नुभएको थियो । 

शैल्यशिखर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०।८१ को वर्षभरिको सार्वजनिक सुनुवाई कार्यक्रम आगामी वर्षको असार मसान्तमा गर्ने जनाएको छ । 

प्रतिक्रिया