Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०४:२७

श्रीमतीको हत्या गरेका धामीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान जारी

सम्बाददाता सम्बाददाता
मङ्गलबार, चैत २०, २०८०
श्रीमतीको हत्या गरेका धामीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान जारी

कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका बैतडीको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६३ बर्षीय कृष्ण धामीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ । चैत ९ गते जिल्ला अदालतबाट १० दिनको म्याद थपेर प्रहरीले धामीमाथि अनुसन्धान शुरु गरेको थियो ।

आइतबार दोश्रो पटक जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

चैत ८ गते बिहान कोदालोले हिर्काएर धामीले आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । श्रीमतीको हत्या गरेका धामीले उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि आक्रमण गरेका थिए । 

घाइते भएका दुवैजनाको नेपालगञ्जमा उपचार भइरहेको छ । कलौनीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । घाइते मध्ये भट्टको अवस्था अझै पनि गम्भीर रहेको छ । 

चैत ८ गते बिहान एक्कासी श्रीमतीको हत्या गरेर कर्मचारीलाई समेत घाइते बनाएका धामीलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो । कर्तव्य ज्यान मुद्दामा धामीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए । घटनाको कारण अझै पनि खुल्न सकेको छैन् । 

श्रीमतीको हत्यापछि कर्मचारीमाथि समेत आक्रमणमा उत्रेका धामीले यस्तो घटना किन गराए भन्ने कुरा चासोको रुपमा हेरिएको छ । घटनाको सबै पक्षलाई केलाएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । 
 

प्रतिक्रिया