Wide Nepal News शनिबार १५, बैशाख २०८१ ०१:०६

बलात्कारको घटना मिलाउने वडाध्यक्ष, शिक्षक र कर्मचारी पक्राउ

सम्बाददाता सम्बाददाता
बुधबार, चैत १४, २०८०
बलात्कारको घटना मिलाउने वडाध्यक्ष, शिक्षक र कर्मचारी पक्राउ

बैतडीमा ४ वर्ष पहिले बलात्कार मुद्दा मिलोमतोमा मुछिएका तीनजना फेरि पक्राउ परेका छन् ।

सोमबार जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमर सिंह धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्र सिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोज सिंह धामी पक्राउ परेका हुन् ।

२०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । त्यसपछि स्थानीयहरूले थाहा पाएपछि हालका वडा अध्यक्ष अमर सिंह धामी, शिक्षक मनोज सिंह धामी, कर्मचारी राजेन्द्र सिंह धामीलगायतका स्थानीयले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए । मिलोमतोमा संलग्न अर्का गोपाल सिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन् ।

आरोपित दिपकले बलात्कृत भएकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए । सोही तमसुकको फट्के किनारा साँची बसेका तीनजना सोमबार पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको हो । त्यसमध्ये वडा अध्यक्ष अमर र शिक्षक मनोजले २७ दिन अनुसन्धानका क्रममा नै कारागार बसेका थिए । उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ ।

यसैगरी यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नु पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेम बिक्रम केसीले जानकारी दिनुभयो । तीनैजनाले १० हजार जरिवना पनि तिर्नुपर्नेछ ।

तर, बलत्कारमा संलग्न दिपक सिंह धामी भने तमसुक बनाएदेखि नै फरार रहेका छन् । प्रहरीले मुख्य अरोपित दिपकलाई अझै पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया