Wide Nepal News बिहिबार २०, मङि्सर २०८१ ०५:२३

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी ’

सम्बाददाता सम्बाददाता
शुक्रबार, चैत ०२, २०८०
थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी ’

 कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारु गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन्।

१७ वर्षअघि टीकापुर महोत्सवबाट थारु कला, संस्कृति, पहिरन र परिवारसहितको थारु गाउँ मेला–महोत्सवमा राखेर परम्परागत संस्कृतिको संरक्षणसँगै आयमूलक काममा जुटेका कुश्मीसँगै ३० जना थारु समुदाय यतिबेला सुदूर, लुम्बिनी र कर्णाली प्रदेशमा सक्रिय छन्।

पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारु गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारु समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राखिने बताएका छन्।

‘यहाँबाट कैलालीको बौनिया र चिसापानी सोल्टामा पनि महोत्सव आयोजकले बोलाइसकेका छन्,’ कुश्मीले भने, ‘थारुको परम्परागत नृत्यदेखि परिकारसम्म एउटै थलोमा पाउँदा मेला अवलोकनकर्ताको प्रमुख आकर्षण नै थारु गाउँ बन्छ।’ थारु गाउँको सञ्चालक बन्नुअघि मेलामा लत्ताकपडाको व्यापार गरेका कुश्मीले गर्मीयाम शुरू भएसँगै मेला–महोत्सवमा कमी आउने भएपछि आफूहरू खेतीपातीमा लाग्ने गरेको उनले बताए। 

‘महेन्द्रनगरमा अहिले १२ स्टलको थारु गाउँ छ भने आठ स्टल सुर्खेत र बाँकी दिपायलमा गएको छ,’ उनले भने, ‘अब दार्चुलामा जाने कुरा भइरहेको छ।’ उनले महोत्सवमा चहलपहल बढी भएका बेला प्रतिस्टलले एकदेखि एक लाख ५० हजार रुपैयाँसम्म कारोबार गर्ने गरेको बताए। थारु गाउँमा परम्परागत पहिरनमा थारु युवायुवतीले नृत्य देखाउनुका साथै परिकारको स्वाद दिने गर्छन्।

‘थारु परिकार घोंगी, गंगटा, मुसा, ढिक्री, माछा र मासुका अन्य परिकार, अन्धी चामलको भात, जाँड र घोंगीलगायत परिकार थारु गाउँमा उपलब्ध हुन्छ,’ कुश्मीले भने, ‘ परिकार बिक्रीवितरण गर्दा यिनै परिकारको स्वादले धेरैलाई तान्छ।’

मेलामा स्टल राख्ने क्रममा कैलाली, कञ्चनपुरका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट पूर्वमा दाङसम्म पुगेको उनीहरूको भनाइ छ। ‘अब वैशाखपछि हामी खेतीपातीमा लाग्छौँ,’ उनले भने, ‘मेला–महोत्सवबाट भएको आम्दानीले घरखर्च चलाउँछौँ।’

कञ्चनपुर पर्यटन महोत्सवमा थारु संस्कृति झल्काउनुका साथै संरक्षणका लागि थारु गाउँ राखिएको थारु गाउँ स्टल संयोजक वेदप्रकाश चौधरीले बताए। ‘थारु कला, संस्कृतिसमेत प्रदर्शन गर्ने भएकाले गाउँमा प्रवेशका लागि प्रतिव्यक्ति २५ रुपैयाँ टिकट राखिएको हो,’ उनले भने, ‘गाउँगाउँभित्र हाम्रो समुदायको सबैखाले पहिचान झल्किने कुरा हेर्न पाइन्छ।’ उनले थारु गाउँबाट थारु समुदायको आयस्रोत पनि बनिरहेको बताउँदै महोत्सवहरूमा थारु गाउँलाई महत्त्व दिनुपर्नेमा जोड दिए। 

कैलालीको धनगढी उपमहानगरपालिका–२ का लक्ष्मी चौधरीले पनि थारु गाउँमा होटल गरेको लागेको चार वर्ष भयो। ‘यो व्यवसायमा लाग्नुअघि धनगढीमा मजदुरी गर्थेँ,’ उनले भने, ‘श्रीमान् अहिले पनि मजदुरी गर्छन् म मेला–महोत्सवमा स्टल राखेर खटिएको छु।’

विभिन्न थारु परिकारका लागि कच्चा पदार्थ पाउन मुस्किल हुने गरेको उनको भनाइ छ। ‘कतिपय खानेकुरा त अहिले पनि भारतबाट मगाउनुपर्छ,’ उनले भने, ‘गंगटा भने यसपालि लम्कीबाट ल्याइरहेका छौँ।’

थारु गाउँमा परम्परागत परिकार अवलोकनकर्तालाई खुवाउन पाउँदा खुशी लाग्ने उनको अनुभव छ। ‘मेला सकिएपछि धनगढीमा भाडामा लिएको १० कठ्ठा जमिनमा खेतीको तयारीमा लाग्छु,’ उनले भने, ‘पछिल्लो समय मेला–महोत्सवमा प्रदर्शनी कक्ष लगाउँदा ठिकै आम्दानी हुने गर्छ।’

प्रतिक्रिया