Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:४९

अपिनाम्पा संरक्षण क्षेत्रद्वारा यार्सागुम्बा संकलनका लागि अनुमति पत्र वितरण कार्य शुरु

Wide Nepal News
शनिबार, बैशाख १७, २०७९
काठमाडौं । दार्चुलामा यो बर्ष पनि यार्सागुम्बा संकलनका लागि सिजन शुरु भएसंगै अनुमति पत्र अनिवार्य रुपमा लिनुपर्ने भएको छ। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले संरक्षण क्षेत्रभित्र यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिन सार्वजनिक सूचना जारी गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीका रुपमा रहेको यार्सागुम्बा सङ्कलनका लागि अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमति पत्र वितरण भइरहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख गणेश पौडेलले बताए । वैशाख १५ गतेदेखि अनुमति पत्र वितरण सुरु भइसकेकोमा यार्सागुम्बा संकलनको अवधि जेठ दोस्रो हप्तादेखि असारसम्म बढीमा ३० दिन तोकिएको छ। यार्सा पाटनमा अनुगमन समेत गरिने भएकाले अनिवार्यरुपमा अनुमति पत्र लैजान अनुरोध गरिएको छ। अनुमतिबिना यार्सागुम्बा संकलन र ओसारपसार गरेमा यार्सागुम्बा जफत गरी कानुनबमोजिम कारबाही गरिनुका साथै यार्सा पाटन प्रवेश गर्दा हातहतियार साथमा लैजान तथा खुला रुपमा दिशापिसाब गर्न नपाइने र संकलन अवधिमा कुनै वनपैदावारको हानी नोक्सानी तथा वन्यजन्तुको चोरी सिकार गरेमा कानुनबमोजिम कारबाही गरिने संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया